राष्ट्रिय दैनिक / नवलपरासी ,२७ असाेज
पश्चिम नवलपरासीको बर्दघाटमा रहेकोG चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ । चौधरी फाउण्डेसनको सहयोगमा अस्पतालमा सीजी सबल केन्द्र सञ्चालनमा आएको हो ।
शनिबार प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अस्पतालमा सबल केन्द्रको उद्घाटन गरेका हुन् । अब चिसापानी अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निशुल्क पाउनेछन् ।

नवलपरासी-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीले चिसापानी अस्पताललाई यो क्षेत्रकै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालका रुपमा अगाडि बढाउने जोड दिँदै आएका छन् ।
चौधरी फाउण्डेसनको सहयोगमा अस्पताललाई विशिष्टिकृटत सेवा दिने अस्पतालका रुपमा काम भइरहेका बेला शनिबारदेखि सबल केन्द्रको पनि उद्घाटन भएको हो ।
सिजी सबल केन्द्रबाट हालसम्म करिव एक हजार जना लाभान्वित भइसकेका छन् । केन्द्रले निशुल्क कृत्रिम हातखुट्टा उपलब्ध गराउँदै आएको छ ।

सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई ध्यानमा राखेर मानवीय सेवाभावले चिसापानी अस्पतालमा सबल केन्द्र स्थापना गरेका हुन् । निर्वाचनका बेला यहाँका नागरिकलाई गुणस्तरीय र सहज स्वास्थ्यसेवाको व्यवस्था गर्ने घोषणा गरेका नेता चौधरीले नवलपरासीमा स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएका छन् ।
चिसापानी अस्पतालबाट देशभरका हातखुट्टा नभएका व्यक्तिले सेवा पाउने चौधरी फाउण्डेसनले जनाएको छ । साथै अस्पताललाई यस क्षेत्रको उत्कृष्ट अस्पताल बनाउने फाउण्डेसनको प्रतिवद्धता छ ।
सांसद चौधरीले चिसापानी अस्पताललाई थप विशिष्टिकृत बनाउन ट्रमा सेन्टरको स्थापना गर्ने जनाएका छन् । उनले ट्रमा सेन्टर स्थापनाका लागि सोहि क्षेत्रकै कतिपय नेताहरुले अवरोध गरेको उल्लेख गर्दै आफू यसअभियानबाट पछाडि नहट्ने प्रतिवद्धता जनाए । ‘यो अस्पतालबाट २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी काम हुन्छ । यसका लागि हाम्रोतर्फबाट सम्पूर्ण साथ सहयोग हुन्छ,’ उनले भने, ‘ट्रमा सेन्टर बनाउन यँहिकै केहि नेताहरु लागेको देख्दा म आफै लज्जित बनेको छु । तर यो मेरो प्रतिवद्धता हो कि म बनाएरै छोड्छु ।’

बर्दघाट नगरपालिकाका मेयर शम्भु श्रेष्ठले चिसापानी अस्पतालको सेवा विस्तार र सुधारमा चौधरी फाउण्डेसनले महत्वपूर्ण योगदान दिएको बताए । उनले भने, ‘म यसका लागि फाउण्डेसनलाई धन्यवाद दिन चाहन्छु । र अस्पताललाई उत्कृष्ट बनाउन नगरपालिकाले सहयोग गर्नेछ ।’
नवलपुरको मध्यबिन्दू जिल्ला अस्पतालमा पनि सीजी सबल केन्द्र सन्चालनमा रहेको छ ।
सांसद चौधरीकै पहलमा सरकारले चिसापानी अस्पतालसहितह नवलपरासी १ का तीन वटा स्वास्थ्य संस्थामा चिकित्सक पठाएको छ । यसअघि चिसापानी अस्पतालमा टोकन प्रणालीबाट सेवा लिने व्यवस्था सुरु भइसकेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

