Rashtriya Dainik

‘ठोरी -५ मा बाघमोर्चामाई पोलिक्लिनिकको सेवा सुरु , गा.पा अध्यक्ष श्रेष्ठद्वारा उद्घाटन

जिराभवानी ,२२ असोज

सहज स्वास्थ्य सेवाबाट बञ्चित रहँदै आएको ठोरीमा ५ सैय्याको बाघमोर्चामाई पोलिक्लिनिक सेवा सुरु भएको छ ।

२४ सै घण्टा विशेषज्ञ डाक्टर सहितको सेवा दिने उद्देश्यले स्थापना भएको सो स्वास्थ्य संस्थाको सोमबार ठोरी गापा अध्यक्ष लाल बहादुर श्रेष्ठले उद्घाटन गर्नुभएको छ ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सञ्चालकहरुसंग आग्रह गर्नुभयो ।

यस भन्दा अगाडि पनि ठोरीमा पोलिक्लिनिक स्थापना भएर बन्द भएको बताउँदै उहाँले आगामी दिनमा ठोरीबासी लगायत वरपरका अन्य पालिकाको जनताको स्वास्थ्यका सवालमा गम्भीर बनेर सेवा प्रवाह गर्न अनुरोध गर्नुभयो । ग्रामीण भेगको स्वास्थ्य संस्था भएकाले उपचार शुल्क सबैलाई सहज हुने गरी कायम गर्नुपर्नेमा अध्यक्ष श्रेष्ठको जोड थियो ।

यस्तै अध्यक्ष श्रेष्ठले सुरक्षाको सवालमा जनप्रतिनिधिको तर्फबाट आफ्नो हरदम सहयोग रहने साथै पालिकाले आवश्यक परेमा एम्बुलेन्स सेवा समेत उपलब्ध गराउने बताउनुभयो ।

बिरगंज ठोरी हुलाकी सडक खण्ड अन्तरगत ठोरी -५ , बाघमोर्चामा स्थापना भएको सो पोलिक्लिनिकले हरेक दिन विशेषज्ञ डाक्टरसहितको सेवा प्रदान गर्ने संस्थाका सञ्चालक समेत रहनुभएका स्वास्थ्यकर्मी अजवीनाथ गौरोले जानकारी दिनुभयो ।

सो पोलिक्लिनिकमा २४ सै घण्टा एमबिबिएस उत्तीर्ण डाक्टर उपलब्ध रहने साथै दैनिक रुपमा फरकफरक विशेषज्ञ डाक्टरहरुको ओपिडी सेवा पनि प्राप्त गर्न सकिने स्वास्थ्यकर्मी गौरोले बताउनुभयो । हाल सो पोलिक्लिनिकमा डाक्टर रवि गिरीले २४ सै घण्टा स्वास्थ्य सेवा प्रदान गर्नुहुनेछ ।

पोलिक्लिनिकमा एक्सरे , भिडियो एक्सरे , इसिजी , प्याथोलोजी , फार्मेसी सेवा लगायत विविध स्वास्थ्य सेवा उपलब्ध रहेको छ । पोलिक्लिनिकको ठोरीका विभिन्न ठाउँमा लामो समय देखि स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आइरहनुभएका सुरेश साह , अजवीनाथ गौरो , दिपेन्द्र कार्की लगायत स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष संलग्नतामा स्थापना भएको हो ।

ठोरीमा विशेषज्ञ डाक्टरको उपलब्धता नहुँदा स्वास्थ्य उपचारका लागि अहिलेपनि बिरगन्ज वा देशको अन्य शहर धाउनुपर्ने बाध्यता छ ।

पोलिक्लिनिक उद्घाटन कार्यक्रममा ठोरी -५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चन लगायत ठोरीका विभिन्न संघसंस्थाका अगुवा प्रतिनिधिहरुको पत्रकारहरुको उपस्थिति थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित