Rashtriya Dainik

सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’

काठमाडौं ,१७ असाेज

विश्वव्यापी तथ्यांक राख्ने संस्था ‘वर्ल्ड स्टाटिस्टिक्स’ ले सर्वाधिक सार्वजनिक बिदा दिने विश्वका ४८ देशको सूची सार्वजनिक गरेको छ। जसमा वर्षभरि ३५ दिन सार्वजनिक बिदासहित नेपाल पहिलो स्थानमा छ।

दक्षिण एसियाका अन्य देशमा भारत २१ दिन सार्वजनिक बिदासहित आठौं स्थानमा रहँदा पाकिस्तान १६ दिनसहित १६ औं स्थानमा छ।

विश्वको पहिलो र दोस्रो ठुलो अर्थतन्त्र भएका मुलुकहरू क्रमशः संयुक्त राज्य अमेरिका र चीनले वर्षभरि समान ११ दिन सार्वजनिक बिदा दिने गरेका छन्। यस्तै एसियाका धनी राष्ट्रहरू जापानले १६ दिन र दक्षिण कोरियाले १४ दिन सार्वजनिक बिदा दिने गरेका छन्। ४८ देशमध्ये वर्षभरि सबैभन्दा कम सार्वजनिक बिदा दिने देश मेक्सिको छ। उसले वर्षमा आठ दिनमात्रै सार्वजनिक बिदा दिन्छ। बेलायतले पनि वर्षमा आठ देखि १० दिनसम्म सार्वजनिक बिदा दिने गरेको छ।

वर्ल्ड स्टाटिस्टिक्सले सार्वजनिक गरेको बिदाका दिनहरू ‘साता बिदा’ बाहेकका हुन्। नेपालमा साता बिदा शनिबार हुन्छ। २०८० सालमा ५२ वटा शनिबार परेका छन्। विश्वका अन्य देशहरूले आआफ्नै नियमअनुसार फरक–फरक बारमा साता बिदा दिने गरेका छन्। कतिपय देशले दुई दिन साता बिदा दिने गरेको पाइन्छ।

बिदामा मनोमानी

वर्ल्ड स्टाटिस्टिक्सले नेपालमा वर्षभरि सार्वजनिक बिदाका ३५ दिन रहेको तथ्यांक गृह मन्त्रालयबाट लिएको हो। गृहले गत चैत २ गते २०८० सालका लागि सार्वजनिक, पर्व र सट्टा बिदाको सूची सार्वजनिक गरेको थियो। जसमा ५२ वटा शनिबार स्वतः बिदा (साता बिदा) अन्य ३५ दिन सार्वजनिक बिदा हुने उल्लेख छ। जसमा पर्व बिदा २७, दिवस बिदा ६ र जन्मजयन्ती बिदा २ दिन छन्।

गृह मन्त्रालयले जारी गरेको बिदा सूचीमा सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र, वर्ग र स्थान विशेषका लागि छुट्याइएका सार्वजनिक बिदाको संख्या पनि जोड्ने हो भने ४९ दिन पुग्छ। जसमा काठमाडौं उपत्यकामा गाईजात्रा, इन्द्रजात्रा, घोडेजात्रा, सुदूरपश्चिम प्रदेशमा गौरा पर्व, पूर्वी तराईमा सिरुवा पावनी, महिलाका लागि हरितालिका (तीज) र जितिया पर्वदेखि लिएर किरातको फाल्गुनन्द जयन्ती, इस्लामको मोहम्मद जयन्ती र शिखको गुरु नानक जयन्तीसम्मका बिदा छन्। गत वर्ष बिदा सूचीमै नभएको ‘जनयुद्ध दिवस’ भनेर संघीय सरकारले सार्वजनिक बिदा दिएको थियो।

यस वर्ष भदौ २८ मा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक मनाउन सार्वजनिक बिदा दिइएको छ। भदौ २६ गतेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। संघीय सरकारअन्तर्गतको गृह मन्त्रालयले नयाँ वर्ष सुरू हुनुपूर्व नै सार्वजनिक बिदा निर्धारण गरे पनि प्रदेश सरकारहरूले पनि आफ्नो भूभागमा आफूखुशी बिदा दिने गरेका छन्। स्थानीय सरकारले पनि आफ्नो भूगोलमा मनोमानी बिदा दिने गरेका छन्।

अर्थतन्त्रका लागि घातक

पूर्वप्रधानमन्त्री भट्टराईले सार्वजनिक बिदामा ‘खराब विश्व रेकर्ड’ कायम भएपछि चिन्ता प्रकट गरे पनि सरोकारवालाले यसमा पहिलादेखि चिन्ता प्रकट गर्दै आएका छन्। सार्वजनिक बिदा व्यवस्थित गर्न बेलामा समिति गठन गरिएका छन्। तर ती समितिका प्रतिवेदन सरकारले कहिल्यै कार्यान्वयन गर्न नचाहेको पूर्वगृहसचिव गोविन्द कुसुम बताउँछन्।

यसमा राजनीतिक नेतृत्वको सबैलाई रिझ्याउने प्रवृत्ति बढी जिम्मेवार रहेको बताउँदै उनले भने, ‘उहाँहरूलाई सबै समुदायको भावना समेट्दा जनमत पाइन्छ भन्ने लोभ होला तर त्यसले राष्ट्रको आर्थिक स्वास्थ्यमा भने प्रतिकूल प्रभाव पार्छ।’

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित