Rashtriya Dainik

वैदेशिक रोजगारीको नयाँ गन्तव्य बन्दै रोमानिया, शुक्रबार श्रम सम्झौता हुँदै

काठमाडौं । युरोपियन मुलुक रोमानिया वैदेशिक रोजगारीको नयाँ गन्तव्य बन्ने भएको छ । त्यसका लागि शुक्रबार नेपाल र रोमानियाबीच श्रम सम्झौतामा हस्ताक्षर हुँदैछ ।

श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको नेतृत्वमा चार सदस्यीय टोली बुधबार रोमानिया जाँदै छ । शुक्रबार श्रममन्त्री भण्डारी र समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबीच श्रम सम्झौतामा हस्ताक्षर हुन लागेको हो ।

पछिल्लो समय रोमानिया नेपाली श्रमिकको नयाँ गन्तव्य बन्दै छ । गएको तीन वर्षमा १० हजार नेपाली रोमानिया गइसकेका छन् । सबैभन्दा बढी अघिल्लो आर्थिक वर्षमा ६ हजार ४ सय १८ जना गएका थिए । गएका नेपाली कामदारमध्ये ३३.३ दक्ष, ८.१ अर्धदक्ष र ५८.४ प्रतिशत अदक्ष रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विश्व बैंकको प्रतिवेदनअनुसार रोमानियाले विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति लिएपछि रोजगारीका अवसर खुल्न थालेका हुन् । रोमानियामा धेरै नेपाली होटल, निर्माण, उद्योग र पशुपालनका क्षेत्रमा जाने गरेका छन् ।

श्रम मन्त्रालयले रोमानिया जाने लागत खर्च ३५ हजार रुपैयाँ निर्धारण गरे पनि म्यानपावर कम्पनीले कामदारसँग त्यसको कैयौं गुणा लिने गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित