Rashtriya Dainik

माल्दिभ्सविरुद्ध नेपालको फराकिलो जित, पुग्यो क्वाटरफाइनलमा

राष्ट्रिय दैनिक ,१४ असाेज

नेपाली क्रिकेट टोली चीनमा जारी एसियन गेम्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा माल्दिभ्सविरुद्ध १२८ रनको जित निकाल्दै नेपाल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

नेपालले अब क्वाटरफाइनलमा भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकामध्ये एक टिमसँग खेल्नेछ । समूह चरणको पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित निकालेकाे थियो ।

यस्तै, माल्दिभ्सले पहिलो खेलमा मंगोलियालाई हराए पनि नेपालविरुद्ध भने उसको प्रदर्शन कमजोर रह्यो । नेपालले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो ।

उसका लागि मुअविथ गनीले ३६, रसिद रासमले अविजित १२ र फरीद शिउसले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । माल्दिभ्सका ६ ब्याटर शून्यमै आउट भए ।

माल्दिभ्सलाई सस्तैमा अलआउट गर्नेक्रममा तीव्र गतिका बलर अविनाश बोहराले घातक बलिङ गरे ।

उनले ३.४ ओभरमा ११ रन दिएर ६ विकेट लिए । टी–२० करियरमा अविनाशको यो अहिलेसम्मकै उत्कृष्ट बलिङ हो । यस्तै, सन्दीप लामिछाने, सोमपाल कामी, गुलसन झा र कुशल भुर्तेलले एक/एक विकेट हात पारे ।

त्यसअघि झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डको मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेल र कुशल मल्लले आज पनि उत्कृष्ट ब्याटिङ गरे । २७ बलको सामना गरेका रोहितले ३ छक्का र ३ चौकासहित ५२ रनको इनिङ खेले । जारी प्रतियोगितामा उनको यो लगातार दोस्रो अर्धशतक हो ।

रोहितले पहिलो खेलमा मंगोलियाविरुद्ध २७ बलमा ६१ रन बनाएका थिए । यस्तै, माल्दिभ्सपविरुद्ध कुशलले २० बलमा तीन चौका र दुईको मद्दतमा अविजित ४७ रन बनाए । उनले अघिल्लो खेलमा १३७ रनको अविजित पारी खेलेका थिए ।

यस्तै, कुशल भुर्तेल, गुल्सन झाले ३५/३५, विनोद भण्डारीले १३, दीपेन्द्र सिंह ऐरी, आसिफ शेखले ६/६ र सन्दीप जोराले ५ रन बनाए । माल्दिभ्सका लागि नाजवान इस्माइलले सर्वाधिक तीन विकेट लिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित