Rashtriya Dainik

पाथीभरा मन्दिरको भेटी छानबिनमा किचलो

इलाम, असोज ४-

इलामको प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी अनियमितता भएको विषयमा गरिएको छानबिनमाथि नै किचलो सुरु भएको छ। भेटीको अनियमितता छानबिन गर्ने विषयमा मन्दिर रहेको रोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबिच सुरुमै तिक्तता बढेको थियो।

छानबिन समितिले करिब तीन महिना लगाएर प्रतिवेदन तयार गरी भदौ ३१ मा सिडिओ श्रवणकुमार पोख्रेललाई बुझाएको छ। सिडिओले आफूले प्रतिवेदन अध्ययन गर्ने समय नै नपाएको भन्दै प्रतिवेदन सार्वजनिक गर्न नसकेको बताइरहेका छन्। तर, गाउँपालिकाले भने सिडिओले प्रतिवेदन लुकाउन खोजेको आरोप लगाउँदै पालिकाले नै आफूले पाएको तथ्य सार्वजनिक गर्ने तयारी गरेको छ।

पालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास)ले प्रशासनले छानबिन प्रतिवेदन सार्वजनिक नगरेको र गाउँपालिकाले पत्र लेखेरै माग्दा पनि कुनै जबाफ नआएको बताएका छन्। ‘गाउँपालिकाको तर्फबाट देखिएको वस्तुगत अवस्थाको अध्ययन प्रतिवेदन, प्रतिवेदन तयार गर्न ढिलो हुनुको कारण, छानबिनको समयको विविध गलत गतिविधि, पालिकाले मन्दिर व्यवस्थापन गरेपछिको आम्दानी, भावी योजनालगायत विषयमा प्रस्ट पार्न पत्रकार भेटघाट आयोजना गरिएको छ,’ पालिका अध्यक्ष स्याङ्बोले भने। आज अपराह्नका लागि गाउँपालिकामै पत्रकार भेटघाट आयोजना गरिएको उनले जनाए।

छानबिनमा मन्दिरको पुरानो समितिले आर्थिक अनियमितता गरेको पाइएपछि प्रतिवेदन नै सार्वजनिक गर्न ‘आलटाल’ गरिएको आरोप छ। २५ दिनको अवधि दिएर गत जेठ २३ मा सहायक सिडिओको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। सहायक सिडिओ ध्रुव कोइराला संयोजक रहेको समितिमा कोष तथा लेखा नियन्त्रक कार्यालय, सहरी विकास तथा भवन कार्यालय, रोङ गाउँपालिकाका प्रतिनिधि र एक अडिटर सदस्य छन्। तर, समितिले छानबिनका लागि करिब तीन महिना लगाएको छ। याे समाचार नागरिक दैनिकमा छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित