उमेश बि.क / नवलपरासी , २९ भदौ
स्वास्थ्य क्षेत्रमा गरेको कामको आधारमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका उत्कृष्ट घोषित भएको छ।
जिल्लामा अन्य ६ वटा पालिकामध्ये सरावल गाउँपालिकाले गरेको कामका आधारमा उत्कृष्ट घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी प्रमुख ओमप्रकाश पन्थीलेले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा पालिकाले स्वास्थ्य क्षेत्रका गरेका उल्लेखनीय कार्यको मूल्यांकन गर्दै सरावल गाउँपालिकालाई जिल्लाकै उत्कृष्ट पालिकाको रुपमा स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षामा बिहीबार सम्मान गरिएको हो ।
गत आ.व.२०७९।०८० मा पालिका र त्यस अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट सञ्चालित स्वास्थ्य सम्बन्धी गतिविधिहरुका मूख्यमूख्य सूचकको आधारमा सरावलले प्रथम स्थान हासिल गरेको स्वास्थ्य कार्यालयका प्रमुख पन्थीले बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा खोप कार्यक्रम, शिशु तथा आमा सुरक्षा, परिवार नियोजन, सरुवा रोग नियन्त्रण, पोषण कार्यक्रमको प्रभावकारीता, समयमै रिर्पोटिङ्ग लगायतका सूचकका आधारमा जिल्लाका सातै वटा पालिकालाई मूल्यांकन गरि उत्कृष्ट छनौट गरिएको पन्थीले बताउनुभयो ।
यसैगरी बर्दघाट नगरपालिकाले दोस्रो तथा रामग्राम नगरपालिकाले तेस्रो स्थान हासिल गरेका छन् । चौंथोमा सुनवल, पाँचौमा प्रतापपुर, छैठौंमा सुस्ता र सातौं नम्बरमा पाल्हीनन्दन छनौट भएको छ ।
कार्यक्रममा जिल्लाका सात वटै पालिका, पृथ्वीचन्द्र अस्पताल र स्वास्थ्य कार्यालयबाट गत आर्थिक वर्षमा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमहरुको समिक्षा गरिएको हो ।
स्वास्थ्य कार्यालयको तर्फबाट तथ्यांक अधिकृत बजरंगी प्रसाद चौधरी, पृथ्वीचन्द्र अस्पतालको तर्फबाट मेडिकल रेकर्डर पूजा न्यौपाने, बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली, सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपाने, रामग्राम नगरपालिकाका स्वास्थ्य सहायक अनिल खड़का, पाल्हीनन्दन गाउँपालिकका स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ता, सरावल गाउँपालिकका स्वास्थ्य शाखा प्रमुख ओमनारायण देवकोटा, प्रतापपुर गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उपेन्द्र कोईरी र सुस्ता गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख निर्मला कुशवाहाले स्वास्थ्य कार्यक्रमको प्रस्तुती गर्नुभएको थियो ।
स्वास्थ्य कार्यालयका प्रमुख पन्थीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशका निमित्त निर्देशक नोमनारायण चौधरी, पृथ्वीचन्द्र अस्पतालका प्रमुख डा. किरण पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जिल्लाका ७ वटै पालिकाले पालिकागत रुपमा गत वर्ष गरेको स्वास्थ्य क्षेत्रका कामका बारेमा जानकारी गराउँदै कार्य प्रगति र चुनौतिका बारेमा अवगत गराएका थिए । वार्षिक समिक्षा गोष्ठीले आगामी दिनमा पालिका पालिकाबीच समन्वय स्थापनासँगै देखा परेका समस्या र चुनौतिलाई समाधान गर्दै स्वास्थ्यका सूचक सुधारमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

