Rashtriya Dainik

नवलपरासीमा अनाधिकृत रुख काटिएपछी जनप्रतिनिधी विरुद्ध पक्राउ पुर्जी

रंजीत शर्मा/ नवलपरासी,२८ भाद्र।

पश्विम नवलपरासीको प्रतापपुर गाउँपालिका वार्ड नं ९ स्थित गण्डक नहर क्षेत्रमा रहेका रुख अनाधिकृत रुपमा कटान गर्ने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एकता सार्वजनिक जग्गा ब्यबस्थापन समितिले गण्डक नहर क्षेत्रमा रहेका रुखहरु अनाधिकृत रुपमा कटान गरेको मुद्दामा नवलपरासी जिल्ला अदालत परासीले ३ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । 

पक्राउ पुर्जी जारी हुनेमा प्रतापपुर गाउँपालिकाका कार्यपालिका सदस्य खेम नारायण चौधरी,वडा नम्बर ९ का वडा सदस्य विरेन्द्र कुमार चौधरी र सोही वडाका दश बहादुर चौधरी रहेका छन् । उनीहरुलाई जिल्ला अदालतले भदौ १३ गते पक्राउ पुर्जी जारी गरेको थियो ।पक्राउ पुर्जी जारी भएको दुई हप्ता वितिसक्दा पनि पक्राउ परेका छैनन् । 

अदालतले पक्राउ पुर्जी जारी गरेपछि पक्राउ गर्नका लागि सहयोग गरिदिन भन्दै भदौ १५ गते वन कार्यालयले प्रहरीलाई पत्राचार गरेको थियो। वनसंग जोडिएको विषय भएकोले पक्राउ गर्नका लागि वनका कर्मचारीहरुको सकृयता नभएको प्रहरीको भनाई छ । पक्राउ गर्ने कार्यमा सहयोग गरिदिन पत्राचार गर्दा पनि प्रहरीले तदारुपता नदेखाएको वन कार्यालयले बताएको छ । 
पक्राउ पुर्जी जारी हुनेहरु जनप्रतिनिधि भएकै कारण विभिन्न बाहानाबाजी बनाएर पक्राउ गर्न ढिला गरेको स्थानिय बताउँछन् । “विभिन्न बाहाना गराई वनले प्रहरीलाई देखाउने र प्रहरीले वनलाई देखाउने गर्दै बाहानाबाजी गरीरहेका छन ।” प्रतापपुर ०९ निवासी एक स्थानियले भने ।

कटान छपान स्विकृति नलिई रुख कटान भएपछि जिल्ला वन कार्यालयले कारवाहीको प्रकृया अगाडि बढाई जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले पक्राउ आदेश जारी गरेसंगै डिभिजन वन कार्यालयले सक्रियता देखाउनु पर्नेमा कार्यालयले प्रहरीलाई पत्राचार गरी सहयोग गरिदिन आग्रह गर्नु बाहेक थप कार्य केही पनि गरेको छैन । 

डिभिजन वन कार्यालयका नवलपरासीका डिभिजन वन अधिकृत महेन्द्र वाग्लेले पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ “पक्राउ गर्न हामीले भदौ १५ गते प्रहरीलाई पत्राचार गरेका छौं । प्रहरीले खोजी गर्दै होला । ” पक्राउ कार्यमा खट्नु पर्ने वन कार्यालयका प्रमुख नै प्रहरी तर्फ देखाएर तर्किएका छन् । पक्राउ पुर्जी जारी भएको दुइ हप्ता वितिसक्दा पनि वनले फरार मानिसहरुलाई पक्राउ गर्न कुनै पनि पहल गरेको छैन । 

वन कार्यालयले प्रहरीले पक्राउ गर्ने बताईरहँदा वनले पक्राउ गर्ने सक्रियता देखाए आफुहरु सहयोग गर्न तयार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक काजी कुमार आचार्यले बताउनु भयो । उहाँ भन्नुहुन्छ “वनले हामीलाई पत्र पठायो तर त्यसपछि कुनै सक्रियता देखाएको छैन । वन कार्यालयका साथिहरु अगाडि लागे प्रहरी सहयोग गर्न तयार छ ।” 
गण्डक नहर क्षेत्रमा लगाईएका ४९ वटा रुख काटिएको विषय विवादित भए संगै अदालत बाट पक्राउ पुर्जी जारी गर्ने सम्म पुगेको छ । काटिएका रुखहरु वडा नम्बर ९ को कार्यालयको जिम्मामा रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित