Rashtriya Dainik

एसिया कप : भारत र पाकिस्तानबीचको बाँकी खेल आज

राष्ट्रिय दैनिक /२५ भदौ

श्रीलंकामा जारी एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज भारत र पाकिस्तानबीचको बाँकी खेल हुने भएको छ । आइतबार वर्षाका कारण प्रभावित भएको यी दुई टोलीबीचको बाँकी खेल दिउँसो ३ः१५ देखि सुरु हुने भएको हो ।

हिजो टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरको अवस्थामा दुई विकेट गुमाएर १ सय ४७ रन बनाएको अवस्थामा पानी परेको थियो । त्यसपछि खेल हुन सकेन ।

वर्षाको सम्भावनालाई ध्यानमा राख्दै भारत र पाकिस्तानबीचको बाँकी खेलका लागि रिजर्भ डेको व्यवस्था गरिएको थियो । सोही कारण यी दुई टिमबीचको बाँकी खेल हिजो रोकिएकै अवस्थाबाट सुरु हुने भएको हो ।

भारतले यो अवस्थामा ओपनरद्वय रोहित शर्मा र शुभमन गिललाई गुमाइसकेको छ । शुभमन ५८ र रोहित ५६ रनमा पवेलियन फर्किएका हुन् । शुभमनलाई शाहिन शाह अफ्रिदी तथा रोहितलाई शादाब खानले आउट गरे ।

जारी एसिया कपमा समूह चरणमा पनि वर्षा बाधक बनेपछि दुवै टिमले एक/एक अंक बाँडेका थिए । पल्लेकेलेमा भएको सो खेलमा टस जितेर ब्याटिङ रोजेको भारत २ सय ६६ रनमा अलआउट भएको थियो ।

पानी नरोकिएपछि पाकिस्तानले भने जवाफी ब्याटिङ गर्न पाएन । दुवै टिम आज जित निकाल्दै सुपर फोरको सम्भावना बलियो बनाउन चाहन्छन् । सुपर फोरमा पाकिस्तान लगातार दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा बंगलादेशलाई ७ विकेटलाई हराएको थियो ।

पाकिस्तान भारतविरुद्ध पनि सोही सानदार लय कायम राख्न चाहन्छ । सुपर फोरमा पहिलो खेल खेलिरहेको भारत पाकिस्तानविरुद्ध जित निकाल्दै विजयी सुरुवात गर्ने सोचमा छ ।

पाकिस्तानको प्लेइङ-११ : फखर जमान, इमाम-उल-हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), आगा सलमान, इफ्तिखार अहमद, शादाब खान, फहीम अशरफ, शाहीन शाह अफ्रिदी, हरिस रौफ र नसीम शाह ।

भारतको प्लेइङ-११ : शुभमन गिल, रोहित शर्मा (कप्तान), विराट कोहली, केएल राहुल, इशान किशन (विकेटकिपर), हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, जसप्रित बुमराह, मोहम्मद सिराज, शार्दुल ठाकुर र कुलदीप यादव ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित