Rashtriya Dainik

अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु पर्दैन : मन्त्री श्रेष्ठ

उमेश बि.क / नवलपरासी , १८ भदौ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ (चाैधरी)ले अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताउनु भएको छ ।

साेमबार पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा प्रदान गर्दै वहाँले भन्नुभयो ‘सरकारले भूमिहीन दलित तथा सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा वितरण थालेको छ। संविधानले दिएको अधिकार अनुसार अब कोही पनि नेपालीहरू भूमिहीन हुनु पर्दैन। देशै भरिका भूमिहीनहरूलाई भूस्वामित्व दिलाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नु गर्नुभयो । नेपालको संविधानले हरेक नागरिकलाई उपयुक्त आवासको हक सुनिश्चितता गरेको हुँदा सरकार यसतर्फ संवेदनशील भएर अघि बढेको मन्त्री श्रेष्ठको भनाई थियो ।

पुर्जा वितरण समारोहमा बोल्दै मन्त्री श्रेष्ठले भूमि अधिकार तिनै तहका सरकारको साझा सूचिमा रहेको उल्लेख गर्दै देशै भरिका भूमिहीनलाई भूमिको मालिक बनाउन भूमि सरकार लागि परेको बताउनु भयो । मन्त्री श्रेष्ठले निष्पक्ष र सामाजिक न्याय सहित भूस्वामित्व दिलाउने कार्यमा आयोग केन्द्रित रहने विश्वास ब्यक्त गर्नु भयो ।


त्यस्तै राष्ट्रिय भुमि आयाेग केन्द्रीय उपाध्यक्ष नहेन्द्र खड्काले देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्वासीहरू रहेकाले अब यो काम तीव्र गतिमा हुने अभियान नै चलाउने बताउनुभयो ।

‘यो देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्वासीहरू हुनुहुन्छ, उहाँहरूको पीडा र मर्का मलाई राम्रैसँग थाहा छ। आज उहाँहरूलाई जग्गाधनी लालपुर्जा दिने ठाउँमा पुगेको छु’, पुर्जा हस्तान्तरण गर्दै उपाध्यक्ष खड्काले भन्नुभयो , ‘मैले नेतृत्व लिएर आएदेखी देशभर भूमिहीनहरूलाई जमिन उपलब्ध गराउनका निम्ति स्पिडमा काम भइरहेको छ। जसको नतिजा प्रत्यक्ष देखिको उल्लेख गर्नुभएको थियो ।

त्यस्तै पुर्व गृहराज्यमन्त्री एवं नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलले जसको जोतभोग हाे उसैलाई पुर्जा वितरण हुनुपर्ने बताउनुभयो । वहाँले गठबन्धन सरकारकाे नेतृत्वमा थुप्रै उल्लेखनीय कामहरु भइरहेको उल्लेख गर्नुभएको थियो ।

त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेतले नेपालमा अबको दिनमा आयोग नै गठन गर्न नपर्ने गरि काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सरावल गाउँपालिका वडा नम्बर ३ रुकुम्बासी टाेलका २५ परिवारले पुर्जा पाएका हुन्।

एक वर्ष गठन भएको आयोगले यो वर्ष भित्र जिल्लामा रहेको भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने गरि प्राथमिकता दिएको राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष देवराज भण्डारीले बताउनुभयो । आयोगमा प्राप्त पूराना अधुरो कामको निवेदन मध्य ९० प्रतिशत अर्थात दुई हजार २१५ जनाको काम सम्पन्न भई लाभान्वित भएको उहाँले उल्लेख गर्नुभयो । नयाँ पुर्जाको लागि पनि सातै पालिकामा लगत संकलन भईरहेको आयोगले जनाएको छ ।

सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे अध्यक्षता तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीकाे प्रमुख आतिथ्यतामा जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो।

वर्षौंदेखि जोतभोग र बसोबास गर्दै आएपनि पुर्जा पाउन नसकेका भूमिहीन सुकुम्बासी नागरिकले पुर्जा पाउँदा हर्षित भएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित