Rashtriya Dainik

स्तरउन्नतीको पर्खाइमा महेशपुर भन्सार कार्यालय : प्रयोगशाला नहुँदा व्यापारीलाई समस्या

बिनोद निगम / नवलपरासी ,७ भदौ

महेशपुर भन्सार मूल भन्सार बनेको ४ वर्ष बितिसक्दा पनि
अपेक्षित गति लिन सकेको छैन। भन्सारको भौतिक पूर्वाधार विकास र प्लान्ट क्वारेन्टिन,विषादी परीक्षणका लागि प्रयोगशालाको व्यवस्थापन नहुँदा भन्सारमा व्यापारीहरूको चाप बढ्न नसकेको हो।

व्यापारीहरुले मालसामानको ठुला मात्रामा निकासी पैठारी गर्न खोज्दा बाटो विस्तार देखि पार्किङ जस्तो पूर्वाधारको अभावमा उक्त नाकाबाट कारोबार गर्न सकेका छैनन् । त्यस्तै भन्सारमा प्लान्ट क्वारेन्टिनको व्यवस्थापन पनि नहुँदा फलफूल र तरकारी,चामल,चीनी,गहुँ,बरन जस्ता स–साना कारोबारहरू पनि यस नाकाबाट गर्न निकै झन्झट भइरहेको व्यवसायीहरू गुनासो गरेका छन्।

वि.स. २०७५ साले श्रावण १ गते नेपाल सरकारले उक्त छोटी भन्सारलाई मूल भन्सारको रूपमा घोषणा गर्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहराज मन्त्री देवेन्द्रराज कंडेलका नेता कार्यकर्ताले आफ्नो नेता कंडेलको पहलबाट भएको हो भनी प्रचार गरेका थिए।त्यसैगरी पूर्व स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीका नेता कार्यकर्ताले पनि हृदेश त्रिपाठीको पहलबाट भएको हो भनी प्रचार गरेका थिए भने नेकपा एमालेका लुम्बिनी प्रदेश सह-इन्चार्ज तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवं प्रवक्ता बैजनाथ चौधरीका नेता कार्यकर्ताले पनि चौधारीको पहलबाट भएको पनि प्रचार गरेका थिए। तर हाल कसैले पनि यसको स्तरउन्नतीमा ध्यान दिइएको देखिँदैन।

यहां कारोबार गर्नका लागि एक्जिम कोडको व्यवस्था नहुँदा, अर्काे तर्फ मालसामानको क्वारेन्टाईन,विषादी परीक्षण,गुणस्तर परीक्षण जस्ता कार्यका लागि भैरहवा भन्सार कार्यालय नै दौडधुप गर्नुपर्ने भएकाले व्यापारीहरुले महेशपुर नाकालाई प्रयोग गर्न छाडेको पाईन्छ ।

विषादी परीक्षणका लागि भैरहवाको बेलहिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ। कार्यालयका प्रमुख बुद्धिराम चुडेलले भारतबाट आयात हुने चीनी,चामल,बरान तरकारी तथा फलफूलमा विषादी परीक्षण गनुपर्ने भए पनि प्रयोगशाला र प्राविधिक नहुँदा परीक्षणका लागि ३६ किलोमिटर टाढा भैरहवा जानुपर्ने बाध्यता रहेको जानकारी दिए ।

उनका अनुसार विषादी परीक्षणका लागि नमूना पठाए पनि रिपोर्ट आउन एक/दुई दिनसम्म समय लाग्ने गरेको छ।‘विषादी परीक्षणका लागि न प्रयोगशाला छ न प्राविधिक नै छन्’, उनले भने ‘रिपोर्ट आउन कम्तीमा एक दिन लाग्छ छिटो भयो भने बिहान आएको गाडी साँझसम्म पठाउँछौँ ।’ उनले भैरहवा प्रयोगशालामा पनि प्राविधिक कम भएका कारण कहिलेकाहीँ समय बढी लाग्ने गरेको बताए । ‘परीक्षण गर्न टाढा पठाउनु पर्दा समय लाग्छ सेवाग्राहीले गुनासो गर्ने गरेका छन्’, उनले भने, ‘रिपोर्ट आउन समय लाग्दा भारतबाट आएका तरकारीका गाडी एक/दुई दिन नाकामै रोकिनुपर्ने बाध्यता छ।

भन्सार एजेन्ट मनिष निगमले भन्सार कार्यालयले भारतबाट आउने तरकारी परीक्षणमा कडाइ गनुपर्ने बताए ।‘भन्सार कार्यालयमा प्रयोगशाला हुन जरुरी छ । विषादी परीक्षण नगरी खाद्यान्न,भुस,चिनी र केही कस्मेटिक आईटमहरु आयात हुन दिनुहुँदैन ।’ उनले भने “परीक्षणकै लागि नाकामा लामो समय चामल,बरन,मकै,भुस,गाडी रोकेर राख्नुपर्ने बाध्यता छ।

पछिल्लो केही वर्षयता नवलपरासीमा भारतबाट आउने धेरै कमी आएको स्थानीयले बताए। अहिले महेशपुर भन्सार छोडेर भैरहवाबाट खाद्यान,चीनी,बरन,आदि सामानहरु आयात हुने गरेको व्यवसायी बताउन छन् ।

भन्सारलाई आवश्यक जग्गा अधिग्रहण,कर्मचारी दरबन्दी बाटोघाटो,गोदाम,पार्किङ्ग,भवन,पशु तथा प्लान्टप क्वारेन्टिन चेकपोस्टको निर्माण जस्ता मुख्य कार्यमा सरकारले ध्यान नदिँदा भन्सारमा व्यापारीहरुको चाप र कारोबार घट्दै गइरहेको पाइएको छ।

भन्सारको ५.५ कठ्ठा जग्गा भए पनि हाल करिब २ कठ्ठामा रहेको उक्त भन्सारलाई ठुलो क्षेत्रफल अधिग्रहण गर्न गोदाम निर्माण,कर्मचारी भवन,भन्सार जाँचकी कक्ष,काउन्टर क्वारेन्टाईनहरु जस्ता महत्वपुर्ण कार्य जरुरी रहेको भन्सारका प्रमुख बुद्धिकुमार चुडेलले बताए।

यस भन्सारको स्तरउन्नतीका लागि नेपाल सरकार तथा जिल्ला नेता,उद्योग बाणिज्य महासंघ जस्ता उद्योगी संस्थाहरुले नैं ध्यान न दिदा जस्ताको तस्तै अवस्था रहेको स्थानिय व्यापारीहरुले गुनासो गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित