राजन चौधरी / रुपन्देही , २६ साउन
पाल्पाको तानसेन हुँदै गुल्मी जाने सडक शनिबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने तानसेन–रिडी सडक खण्ड स्तरोन्नती तथा मर्मत गर्नका लागि २५ दिनसम्म सडक बन्द हुने भएको हो । सडक डिभिजन कार्यालय पाल्पाले बिहीबार एक सूचना जारी गरी साउन २७ गते शनिबारदेखि रातीमा दैनिक ६ घण्टा सडक बन्द गरी निर्माण कार्य गरिने जनाएको छ ।
सडक निर्माणको समय राती १० बजेदेखि विहान ४ बजे सम्म सडक बन्द रहने छ । तोकिएको समय बाहेक सवारी साधनको आवागमनमा असुविधा नपर्ने गरी निर्माण कार्य अगाडि बढाउन कार्यालयले निर्माण व्यवसायीलाई आग्रह समेत गरेको छ । अत्यावश्यक तथा इमरजेन्सी सेवाका सवारी साधनको आवागमनलाई भने तत्काल सडक खुलाई सहज गरिने सूचनामा उल्लेख छ ।
उक्त समयमा कार्य गर्दा शर्तहरु पालना गर्ने गरी काम गर्न निर्माण व्यवसायीलाई भनिएको छ । सडक बन्द रहने समयमा सवारी साधन व्यवस्थित गरी रोकी राख्ने र त्यसपछि लेन म्यानमार्फत रातो/हरियो झण्डा प्रयोग गरी आलोपालो गरी सहज सवारी आवागमनको व्यवस्था मिलाउनुपर्ने, सडक खन्दा निस्केको सामग्री सवारी आवागमनलाई असर नगर्ने गरी तत्काल हटाउनुपर्ने उल्लेख छ ।
तानसेन–रिडी सडक खण्डको लघुवादेखि जोर्तेसम्मको सडक चौंडा गर्ने काम भइरहेको छ । समयमा कार्य सम्पन्न गर्नका लागि सडक पूर्ण रुपमा बन्द गरेर काम गर्न लागिएको सडक डिभिजन प्रमुख प्रदिपमणी निरौलाले जानकारी दिए ।
यस अघि पनि उक्त सडक खण्डको जोर्ते भीर क्षेत्रको पहाड कटान गर्न र समयमा कार्य सम्पन्न गर्नका लागि सडक बन्द गरिदै आइएको छ तर निर्माण व्यवसायीले भने सुस्त गतिमा काम गरेकाले लामो समयदेखि सडक बन्द गर्ने गरिएको यात्रु र चालकको आरोप छ । सडक बन्द रहेको समयमा साना सवारीले जोर्ते, लुहुङ चण्डीभन्ञ्याङ बतासेडाँडाको सडक प्रयोग गर्न सक्ने छन् तर ठूला सवारी साधन सञ्चालनमा भने समस्या हुने सवारी चालकहरुले बताएका छन्
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

