काठमाडौं,२ साउन । नयां नेतृत्व चयन भएको एक वर्षपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । सानेपा, ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे उक्त बैठक बोलाइएको छ ।
कांग्रेसले मंगलवार बस्ने केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले पहिलो एजेन्डाको रूपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने बताए ।
त्यसैगरी साङ्गठनिक कार्य योजना र कार्य तालिका प्रस्तुत हुने उनले जानकारी दिएका छन् । उनका अनुसार कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुनेछ ।
केन्द्रीय समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि रहेको छ ।
अरू एजेन्डाहरूमा पार्टीले प्रतिनिधि सभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउने कार्य तालिका बनाइएको छ ।
केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको महामन्त्री शर्माले जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

