राष्ट्रिय दैनिक / नवलपरासी , ६ असार
पश्चिम नवलपरासीमा दैनिक रुपमा रगतको माग बढ्दा यतिबेला रगत अभाव देखिएको छ।
गर्मीको समयमा रगतको माग बढ्दै गएको र रक्तदानका कार्यक्रममा कमी हुँदा रगत अभाव भएको हो ।
जस्का कारण कतिपय बिरामीलाई आवश्यक परेको बेला तत्कालै रगत उपलब्ध गराउन नसकिएको रक्तसञ्चार केन्द्र परासीले जनाएको छ ।विभिन्न संघ सस्थाहरुले आयोजना गर्ने रक्तदान कार्यक्रमहरू हुन नसक्दा रक्त सङ्कलन कार्य ज्यादै न्युन भएको छ ।चर्को घाम र गर्मीका कारण पनि रक्तदानका कार्यक्रमहरू हुन नसकेको सरोकारवालाको बुझाई छ ।
बुटवल भैरहवा लगायतका स्थानमा समेत रगत अभाव भएका कारण त्यहाँ भर्ना भएका यस क्षेत्रका बिरामीले समेत रक्तसञ्चार केन्द्र परासी बाटै रगत लाने गरेको संयोजक सुरज केसीले बताउनुभयो । अहिले गर्मी मौसमका कारण पनि रक्तदान गर्नेको सङ्ख्या अत्यन्तै न्युन रहेको र नियमित रक्तदाताले समेत रक्तदान गर्न इच्छा नदेखाएपछि अहिले रगत अभावको संकट बढेको केन्द्रले जनाएको छ ।
रगतको स्टक सकिएपछि आकस्मिक रक्तदान गरेर रगत सङ्कलन गर्ने गरिएको केसीले बताउनुभयो । अहिले दैनिक बढीमा १५ पोका सम्म रगतको माग हुने गरेको छ तर रक्तसञ्चार केन्द्रमा रगतको स्टक सकिएको छ । रगत सकिएपछि आकस्मिक रुपमा रक्तदान गरेर रगत सङ्कलन गरिँदै आएको छ । अहिले पनि रक्तसञ्चार केन्द्रमा २० पोका जति रगत रहेको छ । बुटवल भैरहवाबाट समेत माग आउने गरेकाले रगतको अभाव बढेको हो । रेयर ग्रुपका ब्लडका लागी मानिसलाई नै समर्पकमा राखिने गरेको छ भने अन्य ग्रुपका रगत रक्तसञ्चार केन्द्रमा स्टकमा राख्ने गरिएको छ ।
अहिले बिरामीको चाप बढेको र रक्तदानका कार्यक्रम नभएका कारण बिरामीलाई रगत उपलब्ध गराउन हम्मे हम्मे परेको संयोजक केसीले बताउनुभयो । केसीले रगतको अभाव हुन नदिन सबैमा रक्तदान गर्न आग्रह गर्नुभएको छ । रक्तदान जीवनदान भएकाले स्वास्थ्य व्यक्तिले रक्तदान गर्दा शरीरमा कुनै पनि असर नपर्ने भएकाले सबैले रक्तदान गर्ने कार्यमा स्वस्फुर्त सहभागिता जनाउन उहाँको आग्रह छ । विशेषगरी सीमावर्ती पालिकाबाट बढी रगतको माग आउने तर सीमावर्ती पालिकाका बासिन्दाले केतनाको अभावमा रक्तदान गर्न आनाकानी गर्ने गरेको केसीले बताउनुभयो ।
स्थानीय तह पनि रगत सङ्कलनमा उदासिन बन्दै आएको गुनासो छ । “सबैले रगत चाहियो भनेर माग मात्रै गर्छन् तर सङ्कलनका लागी कुनै चासो दिँदैनन् “उहाँले गुनासो गर्नुभयो ।दुर्घटना वा कुनै रगत दिनुपर्ने गम्भीर खालका बिरामीहरूलाई निकै कठिन बनेको छ ।बिरामीका आफन्तहरू रगत अभावमा यत्रतत्र भौँतारिनु पर्ने अवस्था आएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

