बिनोद निगम/ नवलपरासी, ३० जेठ
पश्चिम नवलपरासीमा गर्मीका कारण जनजीवन प्रभावित भएको छ । तातो हावा र चर्को घामका कारण आम सर्वसाधारणलाई दैनिक काम काज गर्न र हिँडडुल गर्न निकै असहज बनेको छ ।
दिउँसो कडा घाम रहेकाले सकभर घरबाहिर ननिस्कन र निस्कन परे पातलो प्रकारको लामबाहुले कपडा लगाउन तथा छाता ओढ्न चिकित्सकको सुझाव छ ।
त्यस्तै खडेरीका कारण पश्चिम नवलपरासीका किसानहरूले लगाएको धान बिउ सुक्न थालेका छन्। अत्यधिक गर्मीसँगै परेको खडेरीले किसानहरूले राखेको धानको ब्याड चिराचिरा पर्न थालेका छन्। यसले किसानहरूलाई ब्याड कसरी जोगाउने चिन्तित बनाएको छ।
पानी नपरे पनि जिल्लाका अधिकांश किसानहरूले धानको बिउ राखिसकेको कृषि ज्ञान केन्द्र परासीका प्रमुख सन्तोष चौधरीले बताए। पानी नपरेर चिन्तित बनेका किसानहरूले पम्पसेटबाट सिँचाइ गरेर धानको बिउ राखेका हुन्। पानी नपरेकाले केही किसानहरूले ब्याडमा पम्पसेटबाटै पानी लगाएका छन्।
पानी नपरेको क्षेत्र मुख्य गरी तराईमा धानको ब्याड राख्न समस्या भएको छ । राखेको ब्याडमा पनि धाँजा फाट्न थालेको छ । ब्याड चिराचिरा पर्ने र यसले बिरुवा सुक्ने समस्या छ । अहिले धानको ब्याडमा खडेरीले समस्या पारेको र स्रोत भएसम्म पानीको व्यवस्थापन गरी बेलाबेला सिँचाइ गर्न कृषि ज्ञान केन्द्र परासीका प्रमुख सन्तोष चौधरीले बताए। अहिलेलाई जसरी हुन्छ ब्याड जोगाउनेतर्फ ध्यान दिन पनि उहाँको आग्रह छ ।
तर गर्मीसँगै परेको खडेरीले चापाकालहरू समेत सुक्न थालेपछि ब्याडमा पानी राख्नसमेत समस्या भएको चौधरीले बताए। ‘अधिकांश किसानहरूले पम्पसेटबाटै सिँचाइ गर्दै आएका छन्। अहिले ५० प्रतिशतभन्दा बढी चापाकलमा पानी सुकिसक्यो। जसले गर्दा पम्पसेटबाट पनि सिँचाइ गर्न नपाउँदा ब्याड चिराचिरा पर्न थालेका छन्,’ चौधरीले भने।
पाँच दिनदेखि परासी क्षेत्रको तापक्रम ४२ देखि ४३ डिग्रीसम्म पुगेको छ। जिल्लाको कुल ४१ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये २१ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती हुँदै आएको छ। विगतका वर्षहरूमा सामान्य पानी परेपछि जेठको अन्तिम साताबाट धान रोपाई सुरु हुने गरेको थियो।
तर अहिले पानी पर्ने सम्भावना नदेखिएकाले यसवर्ष उक्त समयमा रोपाई सुरु हुन नसक्ने र धान उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

