उमेश बि.क / नवलपरासी , १७ जेठ ।
सरावल गाउँपालिका जिल्लाकै पहिलो ‘ पूर्ण खोप दिगोपना सुनिश्चितता ’ पालिका घोषणा गरिएको छ।

१६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई लगाउनुपर्ने खोप सबै लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।
बुधबार एक कार्यक्रमबिच पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका अध्यक्ष भगौती यादवकाे प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा यादवले ‘ पूर्ण खोप दिगोपना सुनिश्चितता ’ पालिका घाेषणा गर्नुभएको हाे।

नेपाल सरकारले ल्याएको पूर्णखोपको अवधारणाअनुसार सरावललाई यश वर्ष जिल्लाको पहिलो पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो। उहाँले यो अभियानलाई निरन्तरता दिन र आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न जोड दिनुभयो । सरावललाई पूर्णखोप घोषणा गरेर पालिकाबासीको स्वास्थ्यप्रति जिम्मेवार बनेको बताउनुभयो । वहाँले सरावल सरसफाई, शिक्षा, स्वास्थ्यमा दिएको प्राथमिकता अन्य पालिकाका लागि सिकाइ बनेको बताउँदै घोषणालाई दिगो बनाइनुपर्नेमा जोड दिनुभएको थियोे ।

स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख ओम प्रकाश पन्थीले पालिकाले स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो ।

सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएपछि तोकिएको सूचक पूरा गरेर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रिय खोप तालिका अनुसार पालिकाका सात वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाएनपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको स्वास्थ्य शाखाका प्रमुख ओम नारायण देवकोटाले बताउनुभयो। पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि पालिकाबाट प्रत्येक घरधुरीमा महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका परिचालन गरि पालिका भित्रका सातै वडाका ५५ वटा टोलहरुमा गत चैत महिनामा गरिएको घरधुरी सर्वेक्षण मार्फत भेटिएका १६ देखि ५९ महिनाका दुई हजार ५४२ बालबालिकाहरु मध्ये १४ जना बालबालिका पूर्ण खोप नलगाएको पाईएकोले ती बालबालिकालाई चैत र वैशाख महिनामा खोज र खोप अभियान अन्तरगत पूर्ण मात्रामा खोप लगाईएको स्वास्थ्य शाखा प्रमुख देवकोटाले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष चौधरीले पूर्ण खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने सम्पूर्ण महिला स्वास्थ्य स्वयम्सेविका तथा कर्मचारीलाई धन्यवाद दिनुभयो । उहाँले खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई बन्जित गराउन नहुने बताउनुभयो ।

सरावल गाउँपालिकाले नियमित खोप कार्यक्रम र पूर्ण खोप दिगोपनालाई उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ । गाउँपालिका अन्तर्गत २७ वटा खोप क्लिनिकहरु मार्फत मासिक रुपमा नियमित खोप कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, महिला तथा बालबालिका शाखा प्रमुख खेम खनाल, महिला स्वास्थ्य स्वयमसेविका सीता शर्मा घिमिरे लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त अवसरमा महिला स्वास्थ्य स्वयमसेविकम, खोप कार्यकर्ता, स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

