Rashtriya Dainik

वाल्मीकि आश्रममा संचालन भएको नौ दिवसीय रामायण ज्ञान महायज्ञ सम्पन्न

अारपि उपाध्याय / नवलपरासी , १६ चैत

चितवन माणी नगरपालिका अन्तर्गत वाल्मीकि आश्रममा संचालन भएको नौ दिवसीय रामायण ज्ञान महायज्ञ विहीबार सम्पन्न भएको छ।
नवलपुरको त्रिवेणी धाम स्थित नारायणी नदी पारी चितवन राष्ट्रिय निकुञ्ज सङ्ग जोडिएको वाल्मीकि आश्रममा चैत्र ८ गतेदेखि प्रारम्भ भएको ज्ञान महायज्ञमा ४० हजारको संख्यामा भक्तजनहरुले कथा श्रवण एवं आश्रमको अवलोकन गरेको विश्व सनातन धर्म स्थापनार्थ केन्द्रीय समितिका अध्यक्ष दिपक जङ्ग रायमाझीले जानकारी दिनुभएको छ।

धार्मिक पर्यटनको विकासका साथै ओझेलमा परेको आश्रमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म प्रचारप्रसार हेतु महायज्ञको आयोजना गरिएको केन्द्रीय समितिका उपाध्यक्ष यमराज थानीले बताउनु भएको छ।

महायज्ञ समापन समारोहमा माणी नगरपालिकाकी प्रमुख तारा कुमारी काजी महतोले वाल्मीकि आश्रम वरिपरि बसोबास गरेका सुकुम्बासीको अवस्था चिन्ताजनक रहेकोले त्यसको व्यवस्थापन को लागि नगरपालिकाले अविलम्ब कानुनी प्रक्रिया मिलाइ सुकुम्बासीको जीवनस्तर उकास्ने कार्य गरिने बताउनु भयो।

नगर प्रमुख महतोले धार्मिक पर्यटन विकासको लागि वाल्मीकि आश्रममा अविलम्ब कार्य योजना सहितको विकास निर्माण सम्बन्धि कार्य गर्न पालिका प्रतिबद्ध रहने धारणा पनि राख्नुभयो।

सोही कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले पटकपटक सरकारमा पुगेका राजनितिक दलको उदासिनता कारण आश्रममा विकास हुन नसकेकोमा अब आश्रमलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न आफू र आफ्ना दल योजना बनाएर नै विकास निर्माण कार्यको लागि सहयोग पुर्याउने धारणा राख्नुभयो।

ज्ञान महायज्ञ समापन समारोहमा विवेकशील साझा पार्टीका उपाध्यक्ष प्रकाश चन्द्र परियार,विष्णुप्रसाद अधिकारी लगायतले आफ्नो धारणा राख्नुभएको थियो। नौ दिने ज्ञान महायज्ञमा कथा वाचक १००८ स्वामी श्री हरि प्रपन्नाचार्यले कथा वाचन गर्नुभएको आयोजकले बताएको छ।

कार्यक्रममा महायज्ञमा सहयोग गर्ने स्वयंसेवक , सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई कदरपत्र सहित सम्मान गरिएको आश्रम जिल्ला समितिका अध्यक्ष शालिग्राम उपाध्यायले जानकारी दिनुभयो। हाल वाल्मीकि आश्रममा सशस्त्र प्रहरी बलको बि.ओ.पी. र प्रहरी चौकी वाल्मीकि आश्रमले नै आश्रम आसपासका ईलाकालाई सुरक्षा प्रदान गर्दै आएको सुरक्षा निकायले बताएको छ।


रामायण ज्ञान महायज्ञमा भारत विहार मुजफ्फर पुर निवासी महिला समाजसेवी किरण शुक्लाले वाल्मीकि आश्रमको धार्मिक क्षेत्रबाट नेपाल भारतको धार्मिक मित्रता बढ्दै गएको प्रतिक्रिया दिनुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित