Rashtriya Dainik

मायादेवी–७ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

तुलसीराम पौडेल /रुपन्देही ,श्रावण ९

रुपन्देहीको मायादेवी गाउँपालिका–७ को नवनिर्मित वडा कार्यालय भवन शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

स्थानीय सरकारबाट प्रवाह हुने सेवा–सुविधालाई थप सहज, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले निर्माण गरिएको भवनको गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरी र वडाध्यक्ष शैलेन्द्र कुमार पाण्डेयले उद्घाटन गर्नु भएको हो । भवनको उदघाटन गर्नु हुदै चौधरीले स्थानीय सरकारको मूल उद्देश्य नागरिकलाई घरदैलोमै प्रभावकारी सेवा उपलब्ध गराउनु रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताउनु भएको छ ।

उहाले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा प्रशासनिक पूर्वाधार विकासलाई समान रूपमा अघि बढाइरहेको जानकारी दिँदै नयाँ वडा कार्यालय भवनले वडा नम्बर ७ का नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।

अध्यक्ष चौधरीले सार्वजनिक संरचनाको संरक्षण र सदुपयोगमा स्थानीयवासीको पनि उत्तिकै जिम्मेवारी रहने उल्लेख गर्दै विकास निर्माणका आगामी योजनामा पनि सबैको सहयोग आवश्यक पर्ने बताउनु भयो ।
यस्तै गरी कार्यक्रममा बोल्दै मायादेवी गाउँपालिका–७ का वडाध्यक्ष शैलेन्द्रकुमार पाण्डेयले नवनिर्मित वडा कार्यालय भवन स्थानीय सरकारको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने दिशामा महत्वपूर्ण उपलब्धि भएको बताउनु भएको छ । उहाले आफ्नै सुविधा सम्पन्न भवन सञ्चालनमा आएपछि सेवाग्राहीले सहज वातावरणमा छिटोछरितो सेवा पाउने विश्वास व्यक्त गर्नु भयो ।

वडाध्यक्ष पाण्डेयले वडा कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराई सहयोग गर्ने स्थानीयवासी तथा निर्माण कार्यलाई समयमै सम्पन्न गर्न योगदान पु¥याउने सबै पक्षप्रति आभार व्यक्त गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोगमा सबै नागरिकको साझा जिम्मेवारी रहने उल्लेख गर्नु भयो ।

उहाले वडा नम्बर ७ को समग्र विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, कृषि र खानेपानी लगायतका क्षेत्रमा योजनाबद्ध रूपमा काम भइरहेको बताउँदै आगामी दिनमा पनि नागरिकको आवश्यकता र सुझावलाई प्राथमिकतामा राखेर विकास निर्माणका कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

यस्तै गरी कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले सार्वजनिक सम्पत्तिको संरक्षण र दीर्घकालीन उपयोगमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनु भयो । नयाँ भवन सञ्चालनसँगै सेवाग्राहीले सहज वातावरणमा सेवा प्राप्त गर्ने र प्रशासनिक कार्यसम्पादन थप प्रभावकारी हुने उहाको भनाइ थियो। उहाले कार्यालयको भौतिक पूर्वाधारसँगै सेवा प्रवाहको गुणस्तर सुधार गर्न कर्मचारी पनि उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिनु भयो ।

त्यसैगरी मायादेवी गाउँपालिका–८ का वडाध्यक्ष चोकबहादुर थापाले स्थानीय तहका कार्यालयहरूलाई नागरिकमैत्री बनाउन व्यवस्थित कार्यालय भवन आवश्यक रहेको बताउनु भयो । उहाले विकास निर्माणका काममा जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीबीच समन्वय हुन सके मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने धारणा राख्नु भयो ।

कार्यक्रममा गाउँपालिकाका प्राविधिक अधिकृत प्रकाश थापाले भवन निर्माणसम्बन्धी प्राविधिक विवरण प्रस्तुत गर्नु भएको थियो । उहाले भवन स्वीकृत डिजाइन, मापदण्ड र गुणस्तरअनुसार निर्माण गरिएको जानकारी दिँदै निर्माण प्रक्रियामा आवश्यक प्राविधिक मापदण्ड पालना गरिएको बताउनु भयो । भवनमा सेवाग्राहीलाई सहज हुने गरी कार्यालय कक्ष, बैठक कक्ष तथा आवश्यक पूर्वाधारको व्यवस्था गरिएको उहाको भनाइ थियो।

श्री गैरगट्टी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेशमणि त्रिपाठीले स्थानीय तहमा पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र प्रशासनिक सेवाको गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गर्नु भयो । उहाले वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुनु स्थानीय सरकारको संस्थागत विकासका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नु भयो ।

वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, समाजसेवी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । वडा सचिव विजयकुमार यादवको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन रामकृष्णले गर्नु भएको थियो ।

स्वागत मन्तव्यका क्रममा वडा सचिव यादवले नयाँ भवन निर्माणसँगै वडा कार्यालयको सेवा प्रवाह थप व्यवस्थित हुने विश्वास व्यक्त गरे। उनले सीमित स्रोत–साधनका बाबजुद नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने प्रयास भइरहेको उल्लेख गर्दै भवन निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सबैप्रति धन्यवाद व्यक्त गरे। उनले स्थानीयवासीको साथ र सहकार्यबिना विमकासका योजना सफल हुन नसक्ने धारणा पनि राख्नु भएको थियो ।
कार्यक्रमकै अवसरमा वडा कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराई महत्त्वपूर्ण योगदान पु¥याएका स्थानीय रामनेवास यादवलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। गाउँपालिकाले स्थानीय विकासमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको जनाएको छ।

स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धि गर्दै नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको यो भवन सञ्चालनमा आएपछि वडा कार्यालयबाट प्रवाह हुने प्रशासनिक सेवा थप व्यवस्थित, सहज र सेवामुखी हुने अपेक्षा गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित