काठमाडौं,चैत १०-
सामान्यतया विद्यालयको बिदाइ सन्देशमा भविष्यको शुभकामना दिइन्छ वा फेरि भेट्ने वाचा गरिन्छ। भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले आफ्नो साथीको सर्टमा लेखेको सन्देश यतिबेला भाइरल बनेको छ, ‘खाडीमा भेटौंला।’
काभ्रेपलाञ्चोकको तिमाल घर भएका निराजन मैनालीले बुधबार विद्यालयमा आयोजित कक्षा १२ को बिदाइ कार्यक्रममा आफ्ना साथी निरज तामाङको पिठ्यूँमा ‘खाडीमा भेटौंला’ भन्ने सन्देश लेखेका हुन्। ‘साथीले मेरो सर्टमा जापानको यात्रा सफल रहोस् भनेर लेखे,’ मैनालीले भने, ‘तर मलाई त्यो विश्वास लागेन, त्यसैले खाडीमा भेटौंला भनेर उसको सर्टमा लेखें।’
‘पार्ट टाइम’ काम गरेर पढ्दै आएका मैनालीले आफूले योभन्दा बढी पढ्न नसक्ने बताए। ‘काम गर्दाको अनुभव र मुलुकको अवस्था देखेर यहाँ टिक्न सकिन्न भन्ने लाग्यो,’ उनले भने, ‘अब बाहिर जाने तयारीमा लाग्छु।’ सानो उमेरदेखि बैंकमा काम गर्ने सपना पालेका मैनालीले त्यो सपना पनि पूरा नहुने देखेर बाहिर जान लागेको सुनाए।
त्यस्तै धारणा राखे निरज तामाङले पनि। साथीले आफ्नो सर्टमा खाडीमा भेटौंला भनेर लेखे पनि पहिलो प्राथमिकता भनेको भाषा पढेर जापान अथवा कोरिया जाने रहेको उनले सुनाए। सिन्धुपाल्चोक बलेफीका निरजले सुरुमा पढ्ने क्रममा सफ्टवेयर इन्जिनियर बन्ने सपना पालेका थिए। ‘सानामा देखेका सपना हराउँदै जाँदा रहेछन्,’ उनले भने, ‘अहिले त कसरी हुन्छ विदेश जाने भन्ने मनमा आएको छ।’ यहाँ बसेर पढाइलाई निरन्तरता दिन नसकिने भएपछि बाहिर जाने सोचले जितेको उनले सुनाए। नागरिक दैनिकमा खबर छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

