Rashtriya Dainik

जिल्ला प्रहरी कार्यालय नवलपरासीले ल्यायो ‘सुरक्षित नवलपरासी अभियान’

ज्ञानेश्वर सहानी/ नवलपरासी ,४ चैत

पश्चिम नवलपरासीको सिमा क्षेत्रको अपराधिक गतिविधि नियन्त्रण र न्यूनीकरणका लागि सुरक्षित नवलपरासी अभियान’सुरु योजना निर्माण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले सुरक्षित नवलपरासीका लागि अपराधहरुको प्राथमिकीकरण गर्दैै योजना तयार गरेको हो । जसका लागि सुरक्षित र अपराधरहीत नवलपरासीका लागि विभिन्न उच्च अपराधको प्राथमिकीकरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयका अनुसार सुरक्षित नवलपरासीका लागि सूचकहरु अघि सारिएको छ । नवलपरासी प्रहरी अब मिसन र भिजनसहित सरोकारवालाहरुको समन्वयमा अपराधको प्राथमिकीकरण र अपराधिक गतिविधि नियन्त्रण तथा न्यूनीकरणका लागि योजना अघि सारेको उनको भनाइ छ ।

नवलपरासी प्रहरीका अनुसार यहाँको मुख्य समस्या लागुऔषध दुव्र्यसन हो । लागुऔषध दुव्यर्सन तथा ओसारपोसार रोक्न समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतना फैलाउने, आपूर्ति रोक्ने, सेवनकर्तालाई मनोसामाजिक परामर्श र लागुऔषधविरुद्ध सचेतना कार्यक्रम गर्दै आइरहेको छ ।

दोस्रो ठूलो समस्याको रुपमा सवारी दुर्घटना रहेको नवलपरासी प्रहरीको निष्कर्ष छ । दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा योजना, सडक सुरक्षा सचेतना र योजनबद्ध ट्राफिक चेकिङ र मादक पदार्थ सेवन (मापसे) चेकिङलाई प्राथमिकता दिइएको पाण्डेय बताउँछन् । आत्महत्या, सवारी दुर्घटना, चोरी तथा चोरी निकासी, साइबर अपराध लागुऔषध दुव्यर्सन तथा ओसारपोसार र महिला तथा बालबालिकाविरुद्ध अपराधलाई मुख्य अपराध सूचकका रुपमा वर्गीकरण गरिएको छ ।

समस्या मात्रै होइन समस्या समाधानका उपायसमेत सुरक्षित नवलपरासी अभियानमा समावेश छ । नवलपरासी प्रहरीको सुरक्षित नवलपरासी र अपराधिक गतिविधि नियन्त्रण र न्यूनीकरणका लागि गरिने क्रियाकलापसमेत उल्लेख गरिएको छ । यहाँको तेस्रो समस्याको रुपमा आत्महत्या रहेको उनले बताए । आत्महत्या रोकथामका लागि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने प्रहरीको योजना रहेको छ । आत्महत्या न्यूनीकरणका लागि पनि समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतनालाई महत्त्व दिइएको छ ।

यसैगरी महिला तथा बालबालिकाविरुद्ध अपराधलाई मुख्य प्राथमिकता दिएको प्रहरीले त्यसका लागि समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतना र शून्य सहनशीलता अपनाउने जनाएको छ । चोरी तथा नियन्त्रणका लागि चोरी कार्यमा संलग्न उपर कारबाहीलाई प्राथमिकता दिइएको छ । यस्तै साइबर अपराध न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतना र सामाजिक सञ्जाल प्रयोगमा सचेतना बढाउने रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

यस्तै सुरक्षित नवलपरासीको लागि काम सुरु भएको उनले बताए । यसलाई अभियान कैरुपमा लागु गरिने उनले बताएका छन् । पहिलो सूचकको रुपमा प्रहरी र जनताको अनुपातको विश्लेषण गरिएको छ । अहिले जिल्ला प्रहरी कार्यालयमा कार्यरत जनशक्तिले एक जना प्रहरी ले यस क्षेत्रका ८ सय ३२ जनालाई सुरक्षा दिनुपर्ने अवस्था रहेको पाण्डेय को भनाइ छ ।

दोस्रो नम्बरमा प्रहरी र जनताको सम्बन्ध जनसंख्या र अपराधिक घटनालाई न्यूनीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘अहिले हिरासतमा धेरै व्यक्ति छन् । उनीहरु विभिन्न अपराधमा मुछिएका छन् । अहिले हाम्रोमा रहेको संख्याको अनुपात धेरै छ । यसरी हेर्दा यो क्षेत्र अपराधको प्रमुख स्थल बन्दै गएको देखिन्छ । यो रोक्ने अभियान हो,’ उनले भने ।

यस्तै सुरक्षा जनशक्ति, जनताको सचेतनाको अवस्था, प्रहरीहरुको संरचना र स्रोत साधनको उपलब्धतालाई पनि ध्यान दिइएको उनले बताए ।
हालैका दिनमा महिला बालबालिका तथा जेष्ठनागरिक विरुद्ध हुने अपराधको नियन्त्रण तथा साईबर अपराध नियन्त्रणलाई प्राथमिकता दिई निरन्तर रुपमा सचेतना कार्यक्रम गर्दै आइरहेको सूचना अधिकारी पाण्डेले बताउनुभयो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित