Rashtriya Dainik

सरावल २ अत्रहटिमा अवस्थित आयुर्वेद औषधालय सेवा केन्द्रकाे सेवा आफ्नै भवनबाट शुरु हुँदै

नवलपरासी , १ चैत

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले विगत सात वर्षदेखि निःशुल्क सेवा सञ्चालन गर्दै आएको आयुर्वेद औषधालयको सेवा प्रवाह अब आफ्नै भवनबाट गर्न लागेको छ ।

सरावल गाउँपालिका–२ अत्रहटिमा आयुर्वेद औषधालय सेवा केन्द्रको हालै नयाँ भवन निर्माण गरिएको छ ।

सरावल गाउँपालिकाको बहुवर्षीय योजनाअन्तर्गत रु ३० लाखको लागतमा चारकोठे भवन वडा नं २ अत्रहटिमा निर्माण गरिएको हो । अबको दिनमा आयुर्वेद औषधालयमा थप सेवा विस्तारका साथै गाउँपालिकामा योगाहल निर्माणको लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जानकारी दिए । नव निर्मित भवनबाट आगामी वैशाखदेखि सेवा सञ्चालन हुनेछ ।

निःशुल्करूपमा सेवा प्रदान गर्ने भावनाले सरावल गाउँपालिका र नेपाल सरकारको सःशर्त अनुदानबाट स्वास्थ्य सेवा सञ्चालन गरिएको हो । निःशुल्क टिकटको माध्यमबाट सेवा प्रदान गर्ने दैनिक २५ देखि ३५ सेवाग्राही आउने गरेका मनरी आयुर्वेद औषधालयका कविराज निरीक्षक सन्तोषकुमार कहारले बताए ।

‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, सुखी र निरोगी नेपाल तथा स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा’ अवधारणाका साथ २०७२ असारमा स्थापना भएको सो औषधालयले सेवा प्रवाह गर्दै आएको छ । प्रत्येक महिनामा करिब सात सयदेखि आठ सय सेवाग्राही आउने भएकाले औषधि अभाव भएको केन्द्रले जनाएको छ । यस केन्द्रबाट सरावल गाउँपालिका साथै बर्दघाट नगरपालिका, सुनवल नगरपालिका, रामग्राम नगरपालिकाबाट पनि सेवाग्राहीले सेवा लिइरहेका छन् ।

धेरैजसो महिला सेवाग्राही बढी आउने गरेको सेवा केन्द्रले जनाएको छ । सेवा केन्द्रबाट हाडजोर्नी दुख्ने, सेतो पानी बग्ने, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, कब्जियत इत्यादि रोगको उपचार गरिँदै आएको छ । चालु आर्थिक वर्षको सात महिनामा करिब तीन हजार दुई सेवाग्राहीलाई सेवा प्रदान गरिएको केन्द्रले जनाएको छ ।

हाल यस औषधालयमा कविराज, वैध, औषधि कुटुवा र कार्यालय सहयोगी गरी चार कर्मचारी कार्यरत छन् । यस्तै सेवा केन्द्रले आफ्नो स्थापनाकाल २०७२ असारदेखि २०८९ फागुनसम्म एक लाख, एक हजार, ६३ जनालाई सेवा प्रदान गरेको आयुर्वेद औषधालयको तथ्याङ्कमा उल्लेख छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित