काठमाडौं, ३० फागुन । गणतान्त्रिक नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभयो । राष्ट्रपतिको कार्यालय शीतल निवासमा एक विशेष समारोहकाबीच पौडेलले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको सपथ लिएसँगै पदभार ग्रहण गर्नुभएको छ ।
शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष तथा अन्य विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको सपथ लिनुपर्ने व्यवस्था छ । हाल प्रधानन्यायाधीश पद रिक्त रहेकाले नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश कार्कीले शपथ गराउनुभएको हो । शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले नियमानुसार सलामी अर्पण गरेको थियो ।
पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । उहाँले नेकपा ९एमाले०का उपाध्यक्ष सुवास नेम्बाङलाई दोब्बरभन्दा बढी मतभारले पराजित गर्दै राज्यको सर्वोच्च पद सम्हाल्न पुग्नुभएको हो । पौडेललाई वर्तमान सत्तारुढ गठबन्धनका आठ दलले साझा उम्मेदवार बनाएपछि संसद्का १० दलले मतदान गरेर राष्ट्रपतिमा निर्वाचित गराएका हुन् ।
६ दशक लामो नेपाली कांग्रेसको राजनीतिक यात्रालाई पूर्ण विराम लगाउँदै उहाँले देशको अभिभावकत्व सम्हाल्नुभएको हो । वर्तमान संविधान र गणतान्त्रिक व्यवस्थालाई संस्थागत गर्दै लैजाने काममा नव निर्वाचित राष्ट्रपति पौडेल देश र सबै दलहरूको साझा बन्नुहुनेछ भन्नेमा आफूहरू विश्वस्त रहेको जिकिर गर्दै नेकपा ९माओवादी केन्द्र०का महासचिव देव गुरुङले भन्नुभयो– ‘अघिल्लो राष्ट्रपतिजीले अमुक दलको पक्षपोषण गर्दै संविधान विपरीतका कतिपय कामहरू गर्नुभएकोले वर्तमान राष्ट्रपति र हामी सबै दलहरू संविधान रक्षाका लागि एकै ठाउँमा उभिएको कुरालाई समेत बुझेर उहाँले काम गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं र उहाँले त्यसो गर्नु पनि पर्छ ।’
राष्ट्रपति पौडेलले सपथ लिनुअघि आइतबार नै नेपाली कांग्रेस परित्याग गर्नुभएको थियो भने सांसद पदबाट समेत राजीनामा दिनुभएको थियो । आइतबार उहाँले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई राजीनामा पत्र बुझाउनुभएको पौडेलको सचिवालयले जनाएको छ । उहाँले देश संविधान र जनताको एक अभिभावक भएर पाँच वर्ष कतै ढलपल नभई कार्य गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक झुकावका आधारमा निर्णय गरेको आरोप खेपेर बाहिरिँदै गर्दा पौडेलले विगतका कमजोरी नदोहो¥याउने नेताहरूले विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति पौडेल संविधानको संरक्षक र मुलुकको अभिभावक बनेर कार्यकाल सफल बनाउने विश्वास व्यक्त गर्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले भन्नुभयो– ‘नव निर्वाचित राष्ट्रपतिले अघिल्लो राष्ट्रपतिजस्तै कुनै दल वा नेता विशेषको आग्रहमा संविधान मिच्ने काम गर्नुहुन्न भन्नेमा हामी विश्वस्त छौं । उहाँले पार्टी सदस्यता त्यागेर राष्ट्रपिताको जिम्मेवारीमा पुग्नुभएको छ । अब उहाँ देशको अभिभावक हो ।’
संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । २०६२–६३ सालको जनआन्दोलनको उपलब्धिका रूपमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास शुरू भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई कार्यकाल राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नमिल्ने संविधानमा उल्लेख छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

