नवलपरासी : बाँकेबाट झापातर्फ लैजाँदै गरेका ३ ट्रक गोरु पश्चिम नवलपरासीको सुनवलबाट स्थानीयले नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिएका गोरुहरु छाड्ने र कारबवाही गर्ने विषयमा स्थानीय र प्रहरीबीच विवाद भएपछि ट्रकलाई जहाँबाट ल्याइएको हो त्यतै फर्काएको छ । ३ वटा ट्रकमा ८२ वटा गोरुहरु थिए । स्वास्थ्य परीक्षणको प्रमाण पत्रसहित लैजाँदै गरेका गोरुहरु मासु प्रयोजनका लागि लैजान लागेको भन्दै स्थानीय र विश्व हिन्दु महासंघमा आवद्ध सदस्यहरुले रोकेर नियन्त्रणमा लिएका थिए । ओसारपसारका लागि आवश्यक पर्ने कागजपत्र भएको पाइएपछि प्रहरीले छाड्न खोजेको थियो । तर स्थानीयले विरोध गरेपछि कानुनी झण्झटका कारण नवलपरासी प्रहरीले रुपन्देही जिल्लाको प्रहरीलाई समन्वय गरेर गोरुहरु फर्काइएको प्रहरीले जनाएको छ । भेटनरी प्रमाण पत्रमा स्वस्थ गोरुहरु रहेको जनाइए पनि अधिकांश गोरुहरु वृद्ध अवस्थाका थिए । केही गोरुहरु ट्रकभित्रै मरेको अवस्थामा रहेका थिए । ओसारपसारको न्यूनतम ढुवानीको मापदण्ड समेत पालना नगरी वृद्ध गोरुहरु ट्रकमा कोचेर लैजान लागेको अवस्थामा रोकेर प्रहरीलाई खबर गरेको स्थानीय हरि भण्डारीले बताए । बाँकेको जानकी गाउँपालिकाको रमवापुर पशु हाट बजारबाट खरिद गरी सर्लाही हुँदै झापा लैजानको लागि भेटेरीनरी प्रमाण पत्र दिइएको छ । सर्लाही घर भइ हाल झापा बस्ने निरज सिंहले लैजाँदै गरेको उक्त गोरुको भेटेरीनरी प्रमाण पत्र ब्रहम बाबा सप्लायर्स मकवानपुर–५ पिप्लेको नाममा ओसारपसारको अनुमति दिइएको थियो । पश्चिमका विभिन्न जिल्लाबाट दिनहुँजसो पूर्वपश्चिम राजमार्ग हुँदै गोरुहरु ओसारपसार हुने गरेको स्थानीयले बताएका छन् । त्यसरी ल्याइएका गोरुहरु झापाको काकडभिट्टाहुँदै मासु प्रयोजनका लागि बंगलादेशसम्म पुर्याउने गरिएको बताइएको छ । #हरि शर्मा (नवलपरासी)# राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।