चितवन, २३ पुस
नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो ।
गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिनुभयो । उहाँका अनुसार तीन हप्ता चरा गणनाको काम हुनेछ । गणनाको क्षेत्र विस्तार हुँदै जाँदा पनि चराको सङ्ख्या बर्सेनि घट्दै जानु चिन्ताको विषय भएको उहाँले बताउनुभयो ।
चराको गुणस्तर बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेती बालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले चराको सङ्ख्या बर्सेनि घट्दै गएको उहाँको भनाइ छ । हरेक क्षेत्रमा जस्तै जलवायु परिवर्तको प्रभाव पनि चराको बासस्थानमा परेको डा बरालले बताउनुभयो ।
चितवनमा भने भोलिदेखि चरा गणना सुरु हुने वर्ड एजुकेशन सोसाइटी सौराहाका पूर्वअध्यक्ष वासु बिडारीले जानकारी दिनुभयो । पूर्वी चितवनमा वर्ड एजुकेशन सोसाइटी सौराहाको नेतृत्वमा र पश्चिम चितवनमा वर्ड एजुकेशन सोसाइटी मेघौलीको नेतृत्वमा चरा गणना हुनेछ ।
पश्चिम सेक्टर अन्तर्गत लोथर पुलदेखि कसरा पुलसम्म चराको गणना हुनेछ । जसमा चराको मुख्य बासस्थान रहेको ढुङ्ग्री खोला, बूढीराप्ती खोला, लामी ताल, तमोर ताल, बरुण ताल, बिसहजारी ताल र राइनो तालमा चराको गणना गरिनेछ । यस्तै चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा छुट्टै समूहमार्फत् चरा गणना गरिनेछ । नेपालमा पछिल्लो तथ्याङ्कअनुसार आठ सय ९२ प्रजातिका चरा छन् । जसमा दुई सय चरा पानीमा आश्रित छन् । चितवनमा मात्रै छ सय ५२ प्रजातिका चरा छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

