Rashtriya Dainik

कोरियामा कामदारको तलब बढ्यो

दक्षिण कोरिया — रोजगार अनुमति प्रणाली (ईपिएस)मार्फत दक्षिण कोरिया आएका कामदारको तलब बढेको छ । नयाँ वर्षसँगै यहाँ कार्यरत कामदारको तलब अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत बढेर प्रतिघन्टा ९ हजार ६ सय २० वन (९ सय ६० रुपैयाँ) प्राप्त गर्नेछन् भने मासिक न्यूनतम तलब २० लाख १० हजार ५ सय ८० (दुई लाख रुपैयाँ) पाउने छन् ।

पाँच जनाभन्दा धेरै कामदार भएको कम्पनीले एक घण्टा ओभर टाइम गरे १४ हजार ४ सय ३० (१४ सय ४०) प्राप्त गर्नेछन् । राति १० बजेदेखि बिहान ६ बजेभित्र काम गरे १९ हजार २ सय ४० (झन्डै २ हजार रुपैयाँ) पाउने छन् ।
पाँच जनाभन्दा कम कामदार भएका कम्पनीको हकमा भने यो नियम लागू हुँदैन । कोरियामा कृषि क्षेत्रमा काम गर्ने प्रायः कम्पनीको कामदार पाँच जनाभन्दा कम छन् । कम कामदार भएको कम्पनीमा ओभरटाइम गरे पनि थप पैसा पाउँदैनन् । कोरियाली श्रम कानुनअनुसार पाँच जनाभन्दा कम कामदार भएको कम्पनीहरूले न्यूनतम ज्याला ९ हजार ६ सय २० वनमै कामदारलाई काम लगाउने छूट छ ।

ओभरटाइमलगायतका अन्य कामदारले कोरियाली श्रम कानुनअनुसार नै पाउनु पर्ने माग कोरियाली ट्रेड युनियनहरूले राख्दै आएका छन् । कोरियाली सरकारले भने सानो पुँजी भएका कम्पनीलाई पनि यो कानुन लगाए कम्पनी बन्दहुने र लाखौं मानिस प्रभावित हुने भन्दै श्रम कानुन लागू गर्न नसक्ने जनाउँदै आएको छ ।

कोरियाली सरकारले सन् १९८६ मा न्यूनतम ज्याला निर्धारण गर्ने नियम पारित गरेको थियो । त्यसको दुई वर्षपछि सन् १९८८ देखि यो नियम लागू हुँदै आएको छ । यसअघिका राष्ट्रपति मुन जे–इनको कार्यकालमा सन् २०१८ मा १६.४ प्रतिशत, २०१९ मा १०.९ प्रतिशत, २०२० मा २.९ प्रतिशत ज्याला बढाइएको थियो ।

त्यस्तै सन् २०२१ मा १.५ प्रतिशत तलब बढेको थियो । यो अहिलेसम्मकै सबैभन्दा कम बढेको तलब हो । तलबवृद्धिले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया आएका ३५ हजारभन्दा बढी नेपाली कामदार पनि लाभान्वित हुनेछन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित