रंजीत शर्मा/ नवलपरासी,१२ कार्तिक।
सूर्य भगवानको पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ पर्ने हरपुर घाट बेहुली झै सिँगार्न थालिएको छ। आस्थाको महापर्व मानिएको छठको तयारीका लागि पाल्हीनन्दनको हरपुर घाट ३ दिन देखि पूरै सरसफाइ गरी झकीझकाउ बनाउन सुरु गरिएको छ ।
पूजा स्थल सजावटका लागि बच्चादेखि बृद्धसम्मका मानिसहरु जुटेका छन्। घाटमा पूजा गर्नका लागि झन्डै एक सय जति पूजा कक्ष निर्माण गरिएको श्री छठ पूजा सेवा समितिकाले जानकारी दिएका छन्।
निर्माण गरिएका पूजास्थलमा टेन्ट,बत्ती,झिलिमिली बत्ती, रङ्गीचङ्गी मालालगायतले सजावट गरिनेछ । हरपुर घाट पूजास्थलमा भक्तजन तथा दर्शनार्थीहरुको प्रवेशका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ। सूर्य भगवानको प्रतिमालगायत विभिन्न देवीदेवताको प्रतिमाको निर्माण हुने बताइएको छ ।
हरपुर घाटमा सांस्कृतिक कार्यक्रम,भजनकीर्तन,विभिन्न झाँकीको प्रस्तुति रहने आयोजक श्री छठ पर्व सेवा समितिले जनाएको छ। छठ पूजाका लागि रु २ लाख लाग्ने अनुमान गरिएको छ।
दुई वर्ष देखि कोरोनाको महामारी नभएकाले पर्व मनाउन निकै सहज भएको बर्तालुहरु बताउँछन्। दुई वर्ष देखि कोभिड–१९ को सङ्क्रमणको महामारी न्यून भइसकेकाले बर्तालु र दर्शनार्थीहरुको भीडभाड निकै बढ्ने आयोजकले अनुमान गरेको छ।

यस पर्वको प्रारम्भ आज देखि बर्तालुहरुले ‘नहाय–खाय’ विधिबाट सुरु गरेका छन्। छठ पर्व कात्तिक १३ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गर्ने गरिन्छ। विगत लामो समयदेखि विभिन्न छठ पूजा सेवा समितिले पाल्हीनन्दनको हरपुर घाटमा संगै महेशपुर,भक्सिपुर, बेलासपुर,पाल्ही,लोहरौली,गेरमी,गेरमा, सनई लगाएतका ठाउँमा छठ पूजाको आयोजना हुँदै आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

