Rashtriya Dainik

हृदयेशसँग स्थानीय रुष्ट : ३० वर्षमा त विकास गर्नुभएन, अब तपाईसँग आश छैन

नवलपरासी : नवलपरासीका स्थानीयले पूर्वमन्त्री हृदयेश त्रिपाठीको सम्पत्ति छानविन हुनुपर्ने माग गरेका छन् ।

उनीहरुले तीस वर्षको अवधिमा त्रिपाठीको सम्पत्ति अस्वभाविक रुपमा बढ्दै गएको भन्दै सम्पत्ति छानविनको माग गरेका हुन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेको त्रिपाठीको आर्थिक हैसियतमाथि स्थानीयले प्रश्न गरेका हुन् ।

‘हृदयेशजी पटक–पटक मन्त्री बन्नुभयो । पाँच पटक सांसद पनि जित्नुभयो । तर यो क्षेत्रको विकास भएन,’ त्रिपाठीकै गाउँका एक स्थानीयले भने, ‘२०४८ सालमा हृदयेशको आर्थिक हैसियत खत्तम थियो । एउटा महिन्द्रा जीप मात्रै थियो । अहिले काठमाडौंमै तीन–चार वटा घर छन् । परिवारका सदस्य पिच्छे गाडी छन् ।’

कांग्रेस नेता एवं प्रदेश सभा (ख) तर्फबाट उम्मेदवार देवकरण कलवार सन्तुले लेखा समितिमा हुँदा त्रिपाठीले बार्गेनिङ गरेर सम्पत्ति जोडेको दावी गरे । साथै उनले ३० वर्षमा पूर्वमन्त्री त्रिपाठीको सम्पत्ति अस्वभाविक रुपमा बढ्दै गएपनि उनकै घर छेउको मुसहर बस्ती जस्ताको त्यस्तै रहेको सुनाए ।

‘पाँच पटक यहाँबाट जनताले चुनेर पठाए । यहाँको सडक, बाटो, डुबान समस्या सबै उस्तै छ । हाम्रो मुटु सुस्तालाई विवादित क्षेत्र भनिदिनुभयो । गण्डक बाँध र सिचाँईको विषयतर्फ ध्यानै दिनुभएन,’ सन्तुले भने, ‘हाम्रो क्षेत्रमा राम्रो अस्पताल छैन । राम्रो क्याम्पस छैन । राम्रो सिचाई छैन । पानी होइन, बालुवा आउँछ ।’

देशमा सबैभन्दा बढि वैदेशिक रोजगारीमा जाने युवाको संख्या नवलपरासी हो । पटक पटक मन्त्री बन्दा पनि त्रिपाठीले रोजगारी सिर्जनाको क्षेत्रमा सिन्को पनि नभाँचेको स्थानीय बताउँछन् ।

हालै जनता प्रगतिशील पार्टी गठन गरेको त्रिपाठीको व्यवहारप्रति पनि स्थानीय रुष्ट छन् । कांग्रेस नेता कलवारले त्रिपाठीको व्यवहार भारतीय चलचित्रको डनजस्तै भएको बताए । ‘तपाई बाबा बन्नुभएको छ । स्थानीय छिमेकीलाई खुट्टा ढोगाउनुहुन्छ । हिन्दी फिल्मको डनझैं व्यवहार तपाईको घरमा छ,’ उनले थपे, ‘चुनावमा सारी बाँड्नुहुन्छ । पाँच सय भारु बाँड्नुहुन्छ । तपाईले यसरी नै चुनाव जित्ने हो । आजका दिनमा पनि जनतालाई लोभ देखाएर मत माग्न लाज लाग्दैन ?’

गरिव नागरिकलाई मिटरव्याजको पासोमा फसाउने कामको अगुवाई पनि त्रिपाठीबाटै हुने गरेको आरोप लाग्दै आएको छ । उनले स्थानीय साहु महाजनसँगको सेटिङमा जनतामाथि ऋणको पासो थाप्ने गरेको आरोप लाग्दै आएको छ ।

कांग्रेस नेता कलवारले नवलपरासी-१ को विकासका लागि विनोद चौधरीको विकल्प नरहेको जोड दिए । चौधरी नवलपरासी १ बाट प्रतिनिधिसभा उम्मेदवार छन् । नेता कलवारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चित व्यक्ति चौधरी नवलपरासी आएपछि यहाँका किसानको समस्या पनि समाधान हुने विश्वास गरे ।

‘विनोदजीको सम्बन्ध देशविदेशका राष्ट्र प्रमुखसँग छ । पार्टीले आवश्यक ठानेर उहाँलाई नवलपरासी खटाएको हो,’ उनले भने, यहाँका उखु किसान र केरा किसानको समस्या पनि अब समाधान हुन्छ । अनि अब यहाँको विकास पनि हुन्छ ।’

३० वर्षमा निरन्तर सत्ताको केन्द्रमा हुँदा पनि क्षेत्रको विकास गर्न नसकेका त्रिपाठीबाट अब अपेक्षा गर्ने ठाउँ नै नभएको मतदाता बताउँछन् । ‘३० वर्षमा त केहि गर्नुभएन, अब तपाईले के गर्नुहोला ?’ एक स्थानीयले भने ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित