राष्ट्रिय दैनिक / नवलपरासी , ९ असाेज
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका केही भू-भाग गुगल नक्सामा भारतमा देखाइएको छ ।
नेपालकै भू-भाग भारतमा देखाएपनि सरकारले त्यसलाई सच्चाउन पहल नगरेको गुनासो स्थानीयको छ ।
नक्सालाई सच्चाउन विभिन्न समयमा सरकारको ध्यानआकर्षण गराएपनि वास्ता नगरेको स्थानीय सन्तोष पाठकले बताउनुभयो । सुस्ताको केही भूभाग भारतमा देखाएपछि बैंक तथा वित्तिय संस्थाहरुले धितो राखेर ऋण दिन मानेका छैनन् । जसका कारण स्थानीयहरु चर्को ब्याजदरमा ऋण काढ्न बाध्य छन् ।

वित्तिय संस्थाले ऋण नदिदा स्थानीयहरु मिटरब्याजीको सम्पर्कमा जानु परेको र अहिले मिटरब्याजीविरुद्ध आन्दोलन गरेका केही ऋणीहरु त्यस क्षेत्रका पनि रहेका छन् ।
सुस्ता गाउँपालिका ४ को अधिकांश भूभाग, वडा नं. ३ को केही भाग र नारायणी नदी पारीको सुस्ता गाउँको केही भाग गुगल नक्साले भारतको बिहार राज्यमा देखाएको छ । नेपाली भूमिमा रहेका विद्यालय, प्रहरी कार्यालयसमेत भारतमा देखिएको छ ।
गुगल नक्सामा भारतमा देखाएको जमिनको राजश्व बुझ्ने, किनबेच गर्ने काम भने भई रहेको छ। तर कर्जा प्रवाहका क्रममा गर्नुपर्ने धितो मूल्यांकन गर्न स्थानीय तहका कर्मचारीहरु जान मान्दैनन् भने बैंकहरुलाई पनि माथिल्लो तहबाट कर्जा प्रवाह नगर्न निर्देशन रहेको त्यहाँका बैंक प्रबन्धकहरुले जनाएका छन् ।
नेपाली भूमिलाई भारतमा देखाइएकाले त्यसलाई तत्काल सच्चाउन नेपाल सरकारसँग स्थानीयको माग रहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

