काठमाडौं / ४ असार
छोरालाई विदेश पठाउन नवलपरासी पश्चिम सुस्ताका ७५ वर्षे चन्दु चमारले साहुबाट डेढ लाख रुपैयाँ ऋण लिएका थिए । सुरुमा ३ प्रतिशत ब्याज लिने भनेर बोलीको भरमा लिएको ऋण पछि ५ प्रतिशत बढाउँदा उनी छाँगाबाट खसेजस्तै भए । ७ वर्षपहिले लिएको ऋण एक वर्षभित्र साँवा र ब्याजसहित ११ लाख बुझाइसकेका उनलाई साहुले अझै ११ लाख रुपैयाँ मागेका छन् । घरको लालपुर्जासमेत उनैले राखेका छन् । विदेश गएको छोराले जति पैसा पठाए पनि साहुको ऋण नतिरिएपछि घरै फर्किए । चन्दु भन्छन्, ‘छोरो ऋण तिर्न नसकेर घर आयो । जग्गाजमिन धरौटीमा छ । बर्बाद भइयो ।’

सुस्ताकै प्रभु कोइरीले ०६३ मा २ लाख रुपैयाँ ऋण लिएका थिए । १८ लाख रुपैयाँ साँवा र ब्याज बुझाइसक्दासमेत साहुले रकम माग्न छाडेका छैनन् । ‘धरौटीमा राखेको लालपुर्जा जग्गा बेचुन्जेलसम्म साहुले फुकुवा गरिदिए,’ उनी भन्छन्, ‘जग्गा बेचेर १८ लाख रुपैयाँ दिइसकेपछि फेरि पुर्जा दिएनन् ।’ ८ कट्ठा ५ धुर जमिन बेचेर ऋण तिर्दा पनि लालपुर्जा नपाएको प्रभुको गुनासो छ ।
नवलपरासी पर्तापुर गाउँपालिका–५ का रामकेवल चमारले १ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए । ०७१ सालमा लिएको ऋणको साँवा र ब्याज ०७२ सालमा ९ लाख ७५ हजार रुपैयाँ बुझाए । घरबारसहितको ४ कट्ठा जमिन धितो राखेका उनले छोरो विदेश पठाउन ऋण लिएका थिए । ‘साहुले अझै १२ लाख दिए मात्रै कागज दिने भन्छन्,’ उनी भन्छन्, ‘अब घरबारै बेच्नुपर्ने स्थिति आयो ।’
सुस्ता गाउँपालिका–२ का रामसुरद गुप्ताका अनुसार सुस्ता र पर्तापुर गाउँपालिकाका ५ हजारभन्दा बढी सर्वसाधारण मिटर ब्याजको मर्कामा परेका छन् । सुस्ताका सुनील बानियाँ, जगदीश बानियाँ, सुरेश बानियाँ र सुदीप बानियाँबाटै उनीहरू ठगिएका हुन् । ६५ वर्षीय राम सुरदले छोरीको बिहे गरिदिन भनेर जगदीश बानियाँसँग तीनपटक ऋण लिए । ७ लाख रुपैयाँ लिएको बताउँदै उनले ३६ महिनामा १४ लाख रुपैयाँ साँवा र ब्याज दिइसकेका छन् । सहारा बैंक भारतको चेकमा डिपोजिट गरिएको उक्त रकमको कागजसमेत उनले देखाए । त्यही रसिदको पछाडि पूरै पैसा बुझिलिएको भनी हस्ताक्षरसमेत गरिएको छ ।
‘यति हुँदाहुँदै फेरि रुपैयाँ माग्दै छन्,’ राम सुरदले भने, ‘मागेजतिको रकम नदिएर करोडौं पर्ने जग्गाको लालपुर्जा रोक्का गरेका छन् ।’ एक–दुई लाखको ऋण लिएर करोडौंको जग्गा धरापमा राख्नुपरेको पीडा मिटर ब्याज पीडितले बताए । उनीहरू न्यायको खोजीमा नवलपरासीदेखि काठमाडौं धाएका छन् । माइतीघर मण्डलमा धर्ना बसेर आफू ठगिएको गुनासो पोखेका छन् । राम सुरद धेरै पटक नवलपरासीको जिल्ला प्रशासन धाए । तर न्याय पाउन सकेनन् । मिटर ब्याजमा ठगी गरेको पीडित आरोप लगाउँछन् ।

नाताले आफन्ती पर्ने बानियाँले धेरै गाउँलेलाई ठगेको पीडक राम सुरद बताउँछन् । आरोपी सुनील बानियाँ भने आफूमाथि झूटो आरोप लगाएको दाबी गर्छन् । ऋण दिने कारोबार गरे पनि उनले मिटर ब्याजमा आफूले पैसा नलगाएको उनको भनाइ छ । मालपोतमा धितो राखेर, कागजी प्रक्रिया पुर्याएर एक–दुई वर्षको समय दिएर ऋण दिने गरेको उनले सुनाए । ‘कतिपयले न साँवा दिएका छन्, न ब्याज,’ उनले भने, ‘हामीमाथि पो अन्याय भएको छ, पैसा गयो, बदनाम भइयो ।’ आफूमाथि अन्याय भएको भन्दै मानहानिको मुद्दा हाल्ने तयारी गरेको उनले जनाए ।
© Copy ekantipur.com
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

