एजेन्सी । पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले बुधबार सरकार पेट्रोल र अन्य पेट्रोलियम पदार्थमा अनुदान दिन सक्ने स्थितिमा नभएको स्पष्ट पारेका छन् ।
अनुदान दिन नसकेको स्थितिमा पेट्रोलको मूल्य बढाउनुबाहेक सरकारसँग कुनै विकल्प नभएको पनि बताएका छन् । त्यसैले पाकिस्तानमा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको छ ।
यसपटक पेट्रोलको मूल्य प्रति लिटर २४.०३ पाकिस्तानी रुपैयाँ बढाइएको छ । यसका साथै पाकिस्तानमा पेट्रोलको नयाँ मूल्यले रेकर्ड कायम गरेको छ । पेट्रोलको नयाँ मूल्य २३३.८९ प्रति लिटर भएको छ । यो मूल्य बिहिबारदेखि नै लागू हुनेछ ।
पेट्रोल बाहेक डिजेलको मूल्य ५९ रुपैयाँ १६ पैसाले बढेको छ । डिजेलको नयाँ मूल्य २६३.३१ रुपैयाँ पुगेको छ । मट्टितेल प्रतिलिटर २११.४३ रुपैयाँमा उपलब्ध हुनेछ जुन पुरानो मूल्यभन्दा ३३.१२ रुपैयाँ बढी हो ।
योसँगै लाइट डिजेलको मूल्य पनि बढेको छ । नयाँ मूल्य प्रतिलिटर २५.५३ रुपैयाँले बढेर २०७.४७ रुपैयाँ पुगेको छ । तेलको मूल्य वृद्धिको घोषणा गर्नुअघि मिफ्ताहले वर्तमान अवस्थाका लागि अघिल्लो इमरान खान सरकार र उनको नीतिलाई दोष दिएका छन् ।
उनले अघिल्लो सरकारको नीतिका कारण देशको अर्थतन्त्र धरासायी भएको बताए । उनले भने, ‘इमरान खानले जानाजानी राजनीतिक लाभका लागि पेट्रोलमा सब्सिडी जारी राखे र मूल्य बढाएनन् ।’
इमरान खान सरकारलाई आरोप लगाउँदै उनले अघिल्लो सरकारको गल्तीका सजाय वर्तमान सरकारले भोग्नुपरेको बताए । अहिले पाकिस्तानलाई पेट्रोलमा प्रतिलिटर २४.०३ रुपैयाँ, डिजेलमा ५९.१६ रुपैयाँ, मट्टितेलमा ३९.४९ रुपैयाँ घाटा भइरहेको उनले बताए ।
पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले आरोप अस्वीकार गरेको छ । पेट्रोलको मूल्य बढेपछि पीटीआई नेता फवाद चौधरीले ट्वीट गरेका छन् ।
उनले पेट्रोल र डिजेलको मूल्यवृद्धि आफ्नो पार्टीले स्वीकार नगर्ने बताए । उनले लेखेका छन्, ‘हामी यो लुटलाई अस्वीकार गर्छौँ । ’
उनले यस्तो लेखेका छन्,‘पेट्रोलको मूल्य वृद्धिले मध्यम वर्गको ढाड सेकिएको छ । यो असक्षम सरकारको विरोधमा जनता सहभागी हुनुपर्छ ।’
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

