Rashtriya Dainik

मुलुकलाई आघात पुग्ने कुनै पनि सम्झौतामा हस्ताक्षर गर्दिनँ : प्रधानमन्त्री शेरबहादुर देउवा

असार १
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई आघात पुग्ने वा रणनीतिक महत्त्वका कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने प्रस्ट पारेका छन् । प्रधानमन्त्रीको अमेरिका भ्रमणको क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर हुन लागेको भन्ने प्रचार भएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूले बुधबार बिहान बालुवाटारमा भएको भेटमा प्रश्न उठाएका थिए । जवाफमा प्रधानमन्त्री देउवाले देशलाई आघात पुग्ने सम्झौतामा आफूले हस्ताक्षर नगर्ने प्रस्ट पारेका हुन् ।

भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।
भेटपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टीको बैठकमा भेटबारे जानकारी दिँदै प्रधानमन्त्री देउवाले नेपाललाई आघात पुग्ने कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने प्रस्ट पारेको सुनाएका थिए । ‘आज बालुवाटारमा प्रचण्डजी, म र उपेन्द्र यादवबीचमा प्रधानमन्त्रीजीले स्पष्ट कुरा गर्नुभएको छ । उहाँको क्लियर कुरा छ, नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्त्वको सम्झौतामा हस्ताक्षर हुने काम मबाट हुँदैन; अरु कसैले भनेर, दबाब दिएर हुनेवाला छैन । म यो विषयमा प्रस्ट छु भन्नुभएको छ,’ पार्टीका नेताहरूसँग अध्यक्ष नेपालले भनेका छन् ।

उनले प्रधानमन्त्री देउवाले नै त्यसबारे प्रस्ट पारेपछि अब बाहिर फैलाइएको कुरामा विश्वास गर्नुपर्ने कारण नभएको बताए । ‘हाम्रो देशको हितमा छ/छैन भनेर हामी सबैले चासो राख्नुपर्छ । सोधीखोजी हुनुपर्छ । तर, बाहिर फैलाइएको प्रचारको आधारमा भावनामा बग्नुहुँदैन,’ नेपालले भने, ‘सतर्क हुने, सजग हुने कुरा ठीक छ तर बाहिर फैलाइएका कुरा विश्वासयोग्य छैनन्; बरू हामी सिधै प्रधानमन्त्रीसँग कुराकानी गर्न सक्छौँ ।’

उनले बैठकमा एकीकृत समाजवादीले असंलग्न परराष्ट्र नीतिलाई छोड्न नसक्ने बताएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित