Rashtriya Dainik

हाइटेन्सन लाइनमा चढेका व्यक्तिको ८ घण्टापछि सेनाले गर्‍यो उद्धार

काठमाडौं : नेपाली सेनाले नुवाकोटमा त्रिशुली ‘थ्री ए’ को प्रसारण लाइनमा रहेका ब्यक्तिको उद्धार गरेको छ।

बेलकोटगढी नगरपालिका-१३ घलेगाउँका ४५ वर्षीय प्रेम विक विहान ११:३० बजे त्रिशुली ‘थ्री ए’ को प्रसारण लाइनको तारमा चढेका थिए। उनलाई तारबाट तल झार्न विभिन्न उपायहरु अपनाइएको थियो। तर उनी ओर्लिन मानेका थिएनन्।

अहिले साँझ ७:३० बजे विकलाई प्रसारण लाइनबाट तल झारिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जानकारी दिए। ‘सेनाको उद्धार टोलीले तल झारेर प्रहरीलाई जिम्मा लगाएको छ,’ रिसालले अन्नपूर्णसँग भने, ‘स्थानीयले मानसिक अवस्था ठिक नभएको भनेको छ। उद्धार गर्दा तर्सिएको छ। किन चढ्यो भन्ने खुलेको छैन।’

प्रजिअ रिसालले हेलिकोप्टरबाट उद्धारको प्रयास गरिएको र त्यो सफल नभएपछि सेनाको उद्धार टोलीले पोलमा गएर उद्धार गरेको बताए। ‘माथि पोलमा भएको अवस्थामा सेनाको उद्धार टोली पोलमा गएर तल झारेको हो,’ उनले भने।

मान्छेसँग डराउने विकलाई उद्धार गर्न स्थानीयले विभिन्न उपाय अपनाइएको पनि उनले बताए। ‘मासुभातको पनि कुरा आएको छ। स्थानीयले उसको आनीबानीअनुसार जनप्रतिनिधि र सुरक्षाकर्मीको टोलीले तल झार्न वातावरण बनाउने प्रयास गरेका थिए। तर उ माथि तारमा गएकाले माथि गएर निकाल्न सकिएको अवस्था थिएन। अहिले पछिल्लो अवस्थामा उ पोलमै रहेको अवस्थामा तल झार्न सफल भयौं,’ उनले भने।

विक हाइटेन्सन लाइनमा चढ्दा आज दिनभर विद्युतसमेत अवरुद्ध भएको थियो। उर्जामन्त्री पम्फा भुसालले विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकोप्टरबाट भए पनि उद्धार गर्न सेनालाई आग्रह गरेकी थिइन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित