काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाको एक विद्युत् पोलमा चढेका ४४ वर्षका माइला बिक अझै पनि बिजुलीको तारमै रहेका छन् ।
मानसिक अवस्था ठिक नभएको माइला शनिबार बिहान ११ बजेतिर बिजुलीको पोलमा चढेको जानकारी स्थानीयले पाएका थिए ।
माथिल्लो त्रिशूली थ्री ए र साना जलविद्युत् आयोजनाको प्रसारणलाइनमा उनी चढेपछि विद्युत् प्रवाह बन्द गरिएको छ ।
प्रहरी र स्थानीय बासिन्दाले उनलाई सकुशल तल झार्न अनेक प्रयास गर्दा पनि नसकिएको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बाह्रखरीलाई जानकारी दिए ।
“मैले यहाँ प्रमुख जिल्ला अधिकारीज्यूलाई पनि सेनाको हेलिकोप्टर बोलाएर उद्धार गरौं भनेर भनेको छु,” उनले भने, “विद्युत्् प्राधिकरणले पनि घण्टाको १० लाख खर्च भइरहेको जनाएको छ । हामीले अनेक प्रयास गर्दा पनि तल झार्न सकेनौं ।”
तामाङका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ । “उहाँको मानसिक अवस्था ठिक रहेनछ,” तामाङले भने, “उनको मानसिक अवस्था ठिक नभएपछि श्रीमतीले पनि छाडेकी रहिछन् । बुबाआमा पनि उनकै कारणले छुट्टै बस्दा रहेछन् ।”
तामाङका अनुसार स्थानीयले बिहान ११ बजे बिजुलीको पोलमा चढेको देखेपछि खबर गरेका थिए । त्यसको केहीबेरपछि उनी तारमा झुन्डिएर यता र उता गरिरहेको तामाङले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

