Rashtriya Dainik

पृथ्वीराजमार्गको आँबुखैरेनी खण्ड बेलुका ७ बजेदेखि बन्द

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि बन्द गरिने भएको छ।

आँबुखैरेनी–४ पावर हाउस नजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द गर्न लागिएको हो।

बिहान सडक भासिएपछि उक्त ठाउँमा साना सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन्। सडक भासिएको ठाउँमा भित्तातर्फ सडक खन्न थालिएको छ।

डेढ-दुई मिटर भित्ता खनेर सडक सञ्चालन गर्न लागिएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीले बताइन्।

‘रातिको समयमा जोखिम सडक भासिएपछि बिहानैदेखि अलपत्र सर्वसाधारणलाई पैदल हुँदै वारपार गराइएको छ’, उनले भनिन्।

यसैबीच गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विकले उक्त खण्डको आजै निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा मन्त्री विकले छिटो काम सकेर यातायात सञ्चालनमा सहजता ल्याउन निर्देशन दिए।

सडक भासिएर उक्त ठाउँबाट कार र मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ।

मृत्यु भएकामध्ये एक जनाको सनाखत भएको छ भने अर्का व्यक्तिको सनाखत नभएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

गोरखा घर भई आँबुखैरेनी–२ बस्ने ३५ वर्षीय केशव घिमिरेको सनाखत भएको उनले बताए। अर्का व्यक्तिको सनाखत प्रयास भइरहेको प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित