राष्ट्रिय दैनिक / नवलपरासी , जेष्ठ २७
आँप पाक्ने सिजन अझै भइसकेको छैन तर नवलपरासी बजारमा भने जताततै आँप देखिन थालेको छ । विषादीको प्रयोगले जबरजस्ती पकाएर पहेंलो बनाइएको आँप धमाधम बिक्री भइरहेको हो ।

भारतबाट आयात गरिएको आँप कार्बाइड तथा विभिन्न किसिमका केमिकलको प्रयोग गरेर पकाइने गरिन्छ । यसरी केमिकल प्रयोग गरी पकाइएको आँपले स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।
तराइमा आँप पाक्ने समय असार पहिलो वा दोस्रो सातादेखि सुरु हुन्छ । जुन साउन अन्तिम वा भदौ पहिलो सातासम्म पाइन्छ । तर अहिले बजारमा आएको आँप जबरजस्ती पकाइएको कृषि प्राबिधिक राम नगिना गुप्ताले बताए । उनले केमिकल प्रयोग गरेर पकाइएको आँपले स्वास्थ्यमा समेत असर गर्न सक्ने बताए ।
‘आँपको सिजन सुरु भइसकेको छैन, असारमा हो आँप पाक्ने,’ गुप्ताले भने, ‘अहिले बजारमा आएको आँप खानयोग्य छैन, यसले मानिसहरू बिरामी पर्न सक्छन ।’ उनका अनसार मुम्बई जातको आँप अलि अगाडि पाक्ने भए पनि यहाँ भने आएको छैन ।
पश्चिम नवलपरासीको बजारमा ठेलाहरूमा पहेंलो आँप आकर्षक देखिने गरी सजाइएको छ । बेमौसमको भएकाले स्थानीयले पनि धमाधम खरिद गरिरहेका छन् । अहिले प्रतिकिलो १००/१५० सम्ममा आँप बिक्री भइरहेको व्यवसायीहरू बताउँछन् ।
केमिकलको प्रयोग गरेर पकाइएको आँप खाँदा ग्यास्ट्रिक हुने र पखाला लाग्नेजस्ता समस्याहरू देखिन सक्ने स्वास्थ्यकर्मी बताउँछन् अहिले अस्पतालमा झाडापखालाका बिरामी बढेका छन् । त्यसमध्ये कतिपय आँप खाएर बिरामी भएका पनि आउने गरेका छन् ।
पश्चिम तराईमा गर्मी दिन प्रतिदिन बढ्दै गइरहेको छ । लामो समयदेखि वर्षा पनि हुन सकेको छैन । यस्तो अवस्थामा तयार नभएका फलफूलहरू विषादी प्रयोग गरेर खाँदा झनै जोखिम हुन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘यसले तत्काल झाडापखाला र ग्याष्ट्रिक देखिए पनि दीर्घकालीन असरहरू पनि गर्छ तसर्थ उपभोक्ताले यसतर्फ सचेत हुनुपर्छ ।’
नियमित बजार अनुगमन नहुने र कारबाही गर्न सकिने अवस्था नभएका कारण स्वास्थ्यका लागि हानिकारक वस्तुहरूसमेत निर्बाध रुपमा बिक्रीवितरण भइरहेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

