उमेश बि.क / नवलपरासी , २३ जेठ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकालाई काेभिड १९ विरुद्धको पूर्णखोप तथा १५ महिना सम्मको बालबालिकाहरुकाे पुर्ण खाेप सुनिश्चितता घोषणा गरिएको छ ।
१५ महिना सम्मको बालबालिकाहरुकाे पुर्ण खाेप तथा १२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएपछि सरावललाई कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

सोमबार पालिकामा आयोजित एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी तथा जिल्ला खोप समन्वय समितिका संयोजक श्रवण कुमार पाेखरेलले सार्वजनिक गरेका हुन् । नेपाल सरकारले ल्याएको पूर्णखोपको अवधारणाअनुसार सरावललाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।

त्यसअवसरमा प्रमुख जिल्ला अधिकारी पाेखरेलले सरावलले पालिकालाई पूर्णखोप घोषणा गरेर नगरबासीको स्वास्थ्यप्रति जिम्मेवार बनेको बताए । उनले पूर्ण खोप घोषणा गर्दै गर्दा महिला स्वास्थ्य स्वयं सेविकाको योगदानलाई पालिकाले भुल्न नहुने सुझाव दिए । उनलेे सरावलले सरसफाई, शिक्षा, स्वास्थ्यमा दिएको प्राथमिकता अन्य पालिकाका लागि सिकाइ बनेको बताउँदै घोषणालाई दिगो बनाइनुपर्नेमा जोड दिए ।

त्यस्तै स्वास्थ्य कार्यालय नवलपरासीको प्रमुख अाेम प्रकाश पन्थीले सरावलमा कार्यविधिअनुसार काम गरेर कोरोना विरुद्धको खोप सुनिश्चितता भएको पालिका बन्न सफल बनेको बताए । अब बुष्टर डोजलाई पनि यसैगरी अघि बढाउनुपर्ने उनको भनाइ छ ।

पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले खोप अभियानमा सहभागी सबै स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्था,पुर्व जनप्रतिनिधि, शिक्षण संस्थालगायत सबैप्रति आभार व्यक्त गर्दै खोपको दिगोपनको लागि पालिकाले योजनाबद्ध रुपमा काम गर्ने बताए । उहाँले निःशुल्क औषधोपचार, एम्बुलेन्स सेवालगायतका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको, सेवाबाट वञ्चित भएका नागरिकलाई समेत सेवा उपलब्ध गराएको बताउँदै पुर्ण खोपलाई दिगो बनाउन गाउँपालिका सदैव लागि पर्ने साथै जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गरिने वातावरण सृजना गर्ने प्रतिबद्धतासमेत गर्नुभयो ।

त्यसअवसरमा जिल्ला खोप समन्वय समितिले पालिकालाई पूर्णखोप भएको प्रमाणपत्र प्रदान गरेको थियो ।
कार्यक्रममा पालिकालाई पूर्णखोप घोषणा अभियानमा सहयोग गर्ने स्वास्थ्यकर्मी , स्वयमसेवीका लगाएत विभिन्न संघसंस्थालाई सम्मान पत्र प्रदान गरिएको थियाे।
सरावल गाउँपालिकामा १२ वर्षमाथिका ३२ हजार ५०६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

कार्यक्रममा पालिका उपाध्यक्ष बासमति हरिजन , पृथ्वी चन्द्र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदा , प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली ,वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादव लगायतले आ आफ्नो भनाइ राखेका थिए। कार्यक्रममा सरावल गाउँपालिका स्वास्थ्यशाखा प्रमुख अाेम नरायण देवकोटाले खाेप प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने स्वास्थ्यशाखा सह संयाेजक खेम खनालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

