३० वैशाख, काठमाडौं । परिस्थिति अनुकूल नभए पनि सकेसम्म भोट हालेरै छोड्ने उत्साहका उदाहरण समाजमा प्रशस्तै भेटिन्छन् । दार्चुलाको ब्यास नगरपालिका–१ तिङ्करका बासिन्दा चुनावमा भोट हाल्नकै लागि भारतीय सीमा बन्द हुनुअघि घर फर्किएका छन् । गाउँ पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने भएकाले सीमा बन्द हुनुअघि वैशाख २७ गते साँझसम्म धेरैजसो मतदाता तिङ्कर फर्किएका थिए । ढिला भए भोट हाल्न नपाइने भएपछि उनीहरु ३ दिनअघि नै गाउँ पुगेका हुन् ।
‘हामी मात्रै हैन, छाङ्ग्रुका बासिन्दालाई पनि वडा कार्यालय पुग्न भारतको बाटो भएर जानुपर्छ,’ स्थानीय वीरेन तिङ्करी भन्छन् । मंसिरमा हिमपात र जाडो छल्न बेसी झरेका उनीहरु फर्किने समय पनि यही हो । यस्तो समयमा चुनाव पनि परेपछि भारतको अनुमति लिएर उनीहरु गाउँ फर्किएका हुन् ।
चुनावले तिङ्कर र छाङ्ग्रु गाउँमा अरु बेला भन्दा चहलपहल निकै बढेको छ । चुनावमा खटिने कर्मचारी र सुरक्षाकर्मी शनिबार नै त्यहाँ पुगेका छन् । तिङ्कर र छाङ्ग्रुका दुई मतदान केन्द्रमा करिब ६ सय मतदाता छन् । भारतका टाढाका शहरहरुमा रहेका र खाडीमा मजदुरी गर्न गएका बाहेक धेरै मतदाता अहिले भोट हाल्न गाउँ पुगिसकेका छन् ।
चुनावमा भोटको मोह दुर्गम हिमाली जिल्लासम्म उत्तिकै छ । सडकमार्गबाट सहजै पुग्न नसकिने स्थानमा हवाई मार्गबाट पनि मतदाता गाउँ पुगेका छन् । तुलनात्मक रुपमा हिमाली जिल्लाका स्थानीय तहमा थोरै मतदाता हुने भएकाले पनि गाउँबाहिर रहेका मतदाता भोट हाल्न ल्याउने गरी दलहरुले तयारी गरेका हुन्छन् ।
रसुवाको पर्यटकीय क्षेत्र गोसाइकुण्ड गाउँपालिकामा पर्ने लाङटाङ, क्यान्जिन, मुण्डुप लगायतका ठाउँका काठमाडौंमा व्यापार व्यवसाय गरेर बसेका थुप्रै मतदाता यसपालि हेलिकोप्टर चार्टर गरेर भोट हाल्न गाउँ पुगेका छन् । रसुवासम्म पुगेर पैदल हिँडेर गाउँ पुग्न झण्डै दुई दिन लाग्ने हुँदा आर्थिक स्रोत बलियो भएका मतदाताहरु हेलिकोप्टर चढेरै गाउँ पुग्ने गरेको लाङटाङका निमा ग्याल्जेन तामाङ बताउँछन् । ‘वडाध्यक्ष र वडासदस्य उठेका आफ्नै साथिभाइ, आफन्तहरु छन्,’ उनले भने, ‘भोलि कसैगरी एक भोटले हारे भने गाली खानुपर्छ, अनि गाउँ आउने एउटा मौका पनि भएको छ यो चुनाव ।’
यतिबेला पर्यटकीय जिल्ला मनाङमा पनि अरु बेला भन्दा बढी स्थानीयहरुको चहलपहल छ । कामका सिलसिलामा वाहिर बसेकाहरु पनि भोट हाल्न गाउँ पुगेका छन् ।
नेपाली समाजमा भोट हाल्न कति उत्साह छ भन्ने एउटा उदाहरण काठमाडौंबाट गाउँ फर्किनेको संख्याले पनि देखाउँछ । पछिल्ला ५ दिनमा मात्रै करिब ३ लाख ३ हजारभन्दा बढी व्यक्तिले सडकमार्ग हुँदै उपत्यका छाडेका छन् । हवाई मार्गबाट बाहिरिएकाहरुको तथ्यांक यसमा समावेश छैन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, चुनाव नजिकिएसँगै उपत्यका भित्रिनेको संख्या घट्दै गएको थियो भने बाहिरिने यात्रुको संख्या ह्वात्तै बढ्दै गएको थियो । २८ वैशाखमा मात्रै ८ हजार ६ सय जनाले काठमाडौं छाडेका थिए । २७ वैशाखमा ५९ हजार ८१ जनाले काठमाडौं छाडेका थिए भने २६ वैशाखमा यो संख्या ५० हजार ९३० थियो । २५ गते ५५ हजार ७४६ र २४ गते ५३ हजार व्यक्तिले उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले देखाउँछ ।
भोट हाल्ने उत्साहका अर्का उदाहरण हुन् डेढ दशकदेखि भारतमा बसिरहेका पोखराका रोशन थापा । उनी चुनावकै लागि भैरहवाको बेलहिया नाका हुँदै नेपाल फर्किएका छन् । तीन जनाको परिवारसहित भोट खसाल्न आएका उनी निर्वाचनलगत्तै भारत नै फर्किने योजनामा छन् । ‘चुनावको मौका पारेर आएको हुँ,’ उनी भन्छन्, ‘भोट हाल्न पनि पाइयो, घर आउन अवसर पनि भयो ।’
थापा मात्रै हैन, बेलहिया प्रहरीका अनुसार, चुनावअघिका एक सातामा दिनहुँ ५ सयभन्दा बढी नेपाली नेपाल फर्किएका थिए । सुदूरपश्चिमका अन्य नाकाहरुबाट पनि मत हाल्न थुप्रै नेपाली गाउँ फर्किरहेका छन् । मध्य तथा पूर्वी तराईका जिल्लामा घर भएर भारतमा विभिन्न पेशा व्यवसाय गर्ने धेरै नेपाली चुनावका लागि अहिले गाउँ पुगेका छन् ।
गाउँ ठाउँमा कति चुनाव लागेको छ भन्ने मकवानपुरको एउटा उदाहरणबाट थाहा पाइन्छ । स्थानीय थाहा नगरपालिका वडा नम्बर ७ का ९० वर्षीय इन्द्र बहादुर कार्की (दारीकान्छा) स्थानीय तह चुनावमा भोट हाल्न गाउँका अन्य मानिसहरुलाई प्रेरित गरिरेहेका छन् ।
‘भोट हालेर के हुन्छ ? भन्छन् । तर, गाउँ ठाउँमा एउटा न एउटा मियो त चाहियो नि । गाउँको विकास गर्न र अप्ठ्यारो पर्दा सहयोग जुटाउने मान्छे भनेका तिनै हुन्’ उनी भन्छन् ‘म त गाउँका सबैलाई भोट हाल्न जानुपर्छ भनिरहेको छु ।’
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

