Rashtriya Dainik

मधेसमा कत्ल की रात आज: दारुमांस,जातभात र पैसा अवधि सुरु

रन्जीत शर्मा/ नवलपरासी/ २८ वैशाख ।
मधेसमा चुनावअघिको मौन अवधिलाई ‘कत्ल की रात’ भन्ने गरिन्छ । कत्ल अर्थात हत्या । चुनाव प्रचार प्रसारका क्रममा उम्मेदवार जतिसुकै बलियो देखिए पनि कत्ल की रातले नतिजा उलटफेर बनाउन सक्छ ।

कत्लकी रातमा के सम्म हुन्छ ?

एक सातासम्म मधेसको चुनावी रिपोर्टिङका क्रममा यस्ता धेरै कहानी सुनिए । साँच्चिकै कत्लकी रातले मधेसमा उम्मेदवारहरुको बेचैनी बढाइदिएको छ । किनकि मौन अवधिका अन्तिम दुई सातले सम्भावित नतिजा बदल्ने गर्छन् ।

चुनाव प्रचारको अन्तिम क्षणमा नवलपरासीको पाल्हिनन्दन पुगेका जसपा नेता धरेन्द्र यादवले कत्लकी रातबाट जागा बस्न आफ्ना कार्यकर्तालाई निर्देशन दिए । दारु मांस, ढौवा कौडी लिएर आउनेहरुलाई जसरी पनि रोक्नू ।
त्यसपछि उनले जनतालाई भने- हामी मधेसीहरु किन पछि पर्यौं भने आफ्नै कारण पछि परेका हौं । चुनावको एक दिनअघि जसले दारु, मासु र ढौवा कौडी दिन्छ उसैलाई भोट दिएर जिताउँछौं । भोट किनेर जितेको मान्छेले तपाईको कुरा किन सुन्छ ?
मौन अवधिमा मधेसमा भित्री बस्तीहरुमा मासु भात, रक्सी र पैसाको चलखेल शुरु भइसकेको छ । कत्ल की रातसम्म हरेक दिन भोजभतेर चल्नु् सामान्य रहेको नवलपरासीको पाल्हिनन्दन गाउपालिकाका प्रमुख पदका उम्मेदवार बैजु प्रशाद गुप्ता बताउँछन् । एउटा पक्षले भोज भतेर थालेपछि अर्कोले नगरी सुखै छैन ।

चुनाव आये पछी हरेक दिन मधेसमा ठूलो भोजभतेर खुवाउनु को साथै पैसाको कारोबार हुन थाल्छ ।
कम्तिमा मतदानको बिहानसम्म हरेक टोलमा मासु रक्सीसहितको भोज अनिवार्य नै हुने गरेको छ । दलहरुले अलग-अलग मेस सञ्चालन गर्दा स्थानीय व्यवसायीहरुले मनग्गे आम्दानी गर्न पाउँछन् ।
चुनावको अघिल्लो रात कतिपय बस्तिमा रातारात उम्मेदवारले महिलालाई सारी,पायल बाँड्छन् । कतिपय अगुवा पुरुषलाई मोबाइल पनि बाँड्छन् । विहानै नयाँ सारी लगाएर मतदान केन्द्रमा गए भने बुझ्नुपर्छ कि कत्लकी रातमा सारी बाँडिएछ ।

रुपिया पैसा गत स्थानीय चुनावले मान्छे बिगार्यो !

वि.स. २०७४ साल सम्पन्न स्थानीय चुनावले मतदाताको बानी बिगारेको रहेछ । वडा सदस्यसम्मका उम्मेदवारले चुनावभरि हरेक दिन भोजभतेर र भोटका दिन नगद दिएका रहेछन् । त्यसैले उनीहरु अहिले बिनापैसा र बिना भोज कुनै उम्मेदवारका कुरा सुन्नेवाला देखिएनन् ।
‘पैसाको त कुरै नगरौं, भोत भतेर र हातमा क्यास नभई कोही भोट दिनेवाला छैन, स्थानीय चुनावमा एउटै वडाका दर्जनौं उम्मेदवारको पालैपालो खाएर पल्किएका मतदाताको बानी नै बिगि्रसकेको छ’ पाल्हिनन्दन गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेका कांग्रेस नेता राजेन्द्र सहानिले हामीसँगको भेटमा चुनावी दुःख पोखे ।

निर्वाचन आयोगले महानगरका मेयर/उपमेयरको खर्च सीमा ७ लाख ५० हजार र वार्ड अध्यक्ष/सदस्यको खर्च सीमा ३ लाख त्यसै उपमहानगरका मेयर/उपमेयरको खर्च सीमा ५ लाख ५० हजार र वार्ड अध्यक्ष सदस्यको लागि २ लाख ५० हजार, नगरपालिकाका मेयर/उपमेयर उम्मेदवारले ४ लाख ५० हजार र वार्ड अध्यक्ष सदस्यले २ लाख र गाउँपालिका अध्यक्ष /उपाध्यक्ष ले ३ लाख ५० हजार र वार्ड अध्यक्ष सदस्यले १ लाख ५० हजार सम्म अधिकतम खर्चको सीमा तोकेको छ । तर ३ लाख दिनहुँ खर्च हुनको साथै मौन अवधिमा एकै दिन मै १० लाख खर्च गर्नुपर्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारहरु बताउँछन् । एक उम्मेदवारका अनुसार पैसाबिना आफ्नै कार्यकर्ता त हिँड्न छाडेछन्, मतदाताको के कुरा ?
‘म चुनाव उठेको छु, अर्को उम्मेदवारले २० लाख खर्च गर्छ भने मैले २५ लाख खर्च गर्नु परेन ?’ गान्धीवादी गुप्ताले खुलेआम हामीसँग विवशता पोखे ।

मधेसमा स्थानीय तहको चुनावले मतदाताको मुख मीठो बनाइदिएको छ । गत स्थानीय चुनावमा भोजभतेर र नगदको खोलो बगेको थियो । त्यसबेला पल्किएका मतदाताको अपेक्षा धेरै भएकाले पनि खर्च धान्न नसकिने गरि बढेको बैजु प्रसाद गुप्ताका प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता राजेन्द्र सहानिले गुनासो गरे ।

कत्लीका रात;निर्णायक जात

रामग्राम नगरपालिकामा नेपाली कांग्रेसका नगर प्रमुख उम्मेदवार नरेन्द्र कुमार गुप्तालाई पछ्याउँदै हामी रामग्राम नगरपालिकाका बिभिन्न गाउँटोलमा पुग्दा त्यहाँ जातीय धु्रवीकरण हामी ‘बहरिया’ र पहरिया (पहाडिया)ले बुझ्ने गरी शुरु भइसकेको थियो । नेपाली कांग्रेसका नेता बैजनाथ जैसवालको आह्वानमा सांसद बिगटन हुँदा ओलीको विरुद्धमा कफन बाँधेर हिँडेका युवा आफ्नो जातवाला तर अर्कै पार्टीको उम्मेदवारको प्रचारमा हिँड्न थालिसकेका थिए ।

चुनाव प्रचारको अन्तिम दिन गुप्ताले रामग्रामका विभिन्न टोलभेलाहरुलाई सम्बोधन गरे । उनी हरेक भाषणमा भनिरहेका थिए-हामी मधेसीहरु जब चुनाव आउँछ, अनि आफ्नो जात खोज्न थाल्छौं । तपाईहरुलाई सरकारले गोली चलाउँदा बचाउन तपाईको जातवाला आयो ? जब चुनाव आउँछ, अनि जात प्यारो हुन्छ ?
मधेसमा चुनावको अन्तिम बेला पैसा र भोजभतेर भन्दा डरलाग्दो चलखेल जातकै हुने गर्दो रहेछ । तराई मधेसमा अहिले पनि पहाडको भन्दा धेरै जातीय भावना देखिने गरेको छ । चुनावका बेला बलियो संगठन भएको प्रभावशाली नेतालाई सामान्य उम्मेदवारले जातीय मतका कारण पराजित गरेका धेरै उदाहरण छन् ।

आफ्नो जातको उम्मेदवारलाई भोट नदिएर अर्कोलाई भोट दिए पाप लाग्ने त्रासदेखि चुनावपछिका सम्भावित आक्रमणको डर पनि फैलाइन्छ । ०७४ को चुनावमा नवलपरासीका एक उम्मेदवारले आफूलाई मत नदिई अर्को जातका उम्मेदवारलाई मत दिएको भनेर चुनाव हारेपछि मतदातामाथि मारपिटमै उत्रिएको समाचार आएको थियो ।

ब्याकवार्ड र फरवार्डको कुराले चुनावको बेला निकै अर्थ राख्छ । मौन अवधि शुरु नहुँदै मधेसका धेरै ठाउँमा उम्मेदवारले आफ्नो अनुकुलतामा जातको कुरा उठाउन थालिसकेका थिए । अब ‘कत्लकी रात’ को अन्तिम प्रहरमा जातका अगुवाहरु भेला भएर उर्दी जारी गर्नेछन्,जसले चुनावी परिणामलाई हेराफेरी गरिदिनेछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित