वीरगंज १५ बैशाख ।
नेकपा एमाले जिराभवानी गाउँपालिकामा उम्मेदवारी दर्ताको विषयलाई लिएर अहिले बवाल मच्चेको छ । शेरबहादुर देउवाको सरकारलाई बवालीहरुले परमादेश सरकारको संज्ञा दिएर अनावश्यक बखेडा झिकेपनि एमाले मधेश प्रदेशका अध्यक्ष रामऔतार यादवले आफै जिराभवानी गाउँपालिकामा उम्मेदवारीको विषयलाई लिएर परमादेश जस्तै आदेश जारी गरेको बुझिन आएको छ । २०७९ बैशाख १० गते यादवको अध्यक्षतामा बसेको पदाधिकारीहरुको नवौं बैठकले पर्सा जिल्लाको विभिन्न गाउँपालिका र नगरपालिकाको उम्मेदवारी सन्दर्भमा निर्णय गर्दा क्र.सं. ५ मा जिराभवानी गाउँपालिकाको अध्यक्ष पदमा कुनाल महतो थारु र उपाध्यक्ष पदमा उषा देवी थरुनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सोही निर्णय बमोजिम निर्वाचन अधिकृतको कार्यालय जिराभवानीमा करिब १ः३० बजेको समयमा कुनाल महतो थारु अध्यक्ष पदमा र उषा देवी थरुनी उपाध्यक्ष पदमा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराए । जिराभवानी गाउँपालिकाका निवर्तमान अध्यक्ष रामप्रित महतोको उम्मेदवारी सन्दर्भमा सिफारिस नभएतापनि उनले पनि नेकपा एमालेको तर्फबाट करिब ४ः३० बजेको समयमा उम्मेदवारी दर्ता गराए । एउटै पार्टीबाट दुई÷दुई जनाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता भईसकेपछि जिराभवानी एमालेमा ताण्डव मच्चेको छ । बैशाख १० गते बसेको बैठकमा मधेश प्रदेशका ईन्चार्ज रघुबिर महासेठ, सह–ईन्चार्जहरु प्रभु साह, पुरुषोत्तम पौडेल, सुमन राज प्याकुरेल, लिलानाथ श्रेठ, ज्वाला कुमारी साह लगायतको उपस्थितिमा गरेको निर्णयलाई लत्याउदै अध्यक्ष रामऔतार यादवले बुधवारका दिन जिराभवानी गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा आधिकारिक उम्मेदवार रामप्रित महतोको हो भनि पत्र पठाएको बुझिन आएको छ । यता अर्का उम्मेदवार कुनाल महतो थारुले मैले मधेश प्रदेश कमिटीको संस्थागत निर्णय भएको हुनाले सोही बमोजिम मेरो उम्मेदवारी परेको हुनाले कुनै पनि हालतमा मेरो उम्मेदवारी रद्ध हुनु हुदैन भनि अडान राखेका छन् । निवर्तमान अध्यक्ष रामप्रित महतोले गाउँपालिका अध्यक्ष भएर मोटो रकम कमाएको कारण मधेश प्रदेश अध्यक्ष यादवलाई प्रभावित पारेर आफ्नो पक्षमा पत्र लेखाउन सफल भएको चर्चा छ भने निर्वाचन अधिकृत झमिन्द्र पाण्डेलाई पनि रिझाउन प्रयासरत्त रहेको समाचार स्रोतको भनाई रहेको छ । यस सन्दर्भमा निर्वाचन अधिकृत पाण्डेलाई मोबाईल सम्पर्क गर्न खोज्दा रिसिभ हुन सकेन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

