Rashtriya Dainik

चुनावको मौन अवधिमा दारुको बिक्री रोक्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा देशभर मादक पदार्थ (दारु)को बिक्री–वितरण र सेवनमा रोक लगाउन प्रस्ताव गरेको छ ।

आसन्न स्थानीय तह निर्वाचनलक्षित अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधि नहोस् भनेर यस्तो प्रस्ताव गरिएको जानकारी दिए ।

‘निर्वाचनको मौन अवधि भनेको चुप लागेर बस्ने अवधि हो । हामीले त्यसलाई बढी चलायमान हुने अवधि हो भनेर बुझिदियौँ, यसमा फेरबदल ग-यौँ, यसमा चलायमान गर्ने विविध तत्व हुन्छन्, मादक पदार्थको बिक्री–वितरण र सेवनले मान्छेलाई चलायमान गराउँछ । मौन अवधि जारी भएपछि देशभरि नै मादक पदार्थको बिक्री–वितरण र सेवनलाई निषेध र नियन्त्रण गरौँ भन्ने प्रस्ताव अगाडि सारिएको छ,’ उनले भने ।

कार्यक्रममा प्रमुख आयुक्त थपलियाले नयाँ कामको थालनी गर्दा निर्वाचन आयोगप्रति शंकाको दृष्टिले हेरिँदा निर्वाचन सुधारका काममा असहज हुने गरेको पनि बताए । आयोगको काम–कारबाहीलाई लिएर पछिल्लो समय एमालेले प्रश्न उठाउँदै आएको छ ।

आयोगले निर्वाचन सुधारका लागि गरेका नयाँ कामलाई स्वार्थको सेरोफेरोबाट हेरिँदा आयोगलाई काम गर्न अप्ठ्यारो भएको प्रमुख आयुक्त थपलियाले बताए ।

‘निर्वाचन तयारीमा जुटिरहँदा कुनै पनि सुधारलाई शंकाको दृष्टिले हेरिदिने, कुनै परिवर्तन गर्न खोज्यो भने त्यसलाई सहज रूपमा पचाउन पनि नसक्ने र कुनै नयाँ थालनी ग-यौँ भने त्यसलाई आफ्नो स्वार्थको सेरोफेरोबाट बुझ्न खोज्नेजस्ता प्रवृत्तिका कारण निर्वाचन सुधारका कामलाई प्रभावकारी ढंगले अघि बढाउन कहीँ–कतै असहज तथा अप्ठ्यारो भएजस्तो महसुस हुँदो रहेछ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित