सुनसरीकाे बर्जु महाेत्सवमा भएकाे आगलागी तथा ताेडफाेडकाे घटनाकाे छानबिन गर्न सुनसरी प्रशासनले छानबिन समिति गठन गरेको छ ।
हिजाे महोत्सवका क्रममा भएको तोडफोड र आगजनीको घटनाकाे छानबिनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डीएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी सदस्य रहेको छानबिन समिति गठन भएको हो । समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । समितिले आजबाटै काम थाल्ने बताइएको छ ।
यसैबीच सुनसरी प्रशासनले घटना सम्बन्धमा पत्रकार सम्मेलनको आयोजना गरी घटनामा बर्जु गाउँपालिकाको कार्यालय पूर्ण दोषी रहेको बताएको छ । महोत्सव आयोजकका रुपमा रहेको गाउँपालिकाले प्रशासनको निर्देशन अटेर गर्दा दुर्घटना भएको प्रशासनकाे निष्कर्ष छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रशासनको परिपत्र र निर्देशन अटेर गरी गाउँपालिकाले आफूखुशी महोत्सव सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले महोत्सव रोक्न आफूहरुले गरेको प्रयासलाई गाउँपालिकाले बेवास्ता गरेकाे बताउनु भयाे ।
प्रजिअ यादवले ठूलो हताहतीबाट जोगाउन आक्रोसित भिडमाथि बल प्रयोग गर्न नसकिएको जिकिर गर्नुभयो । उहाँले प्रहरी प्रशासनले संयमता अपनाउँदा मानवीय क्षति हुन नपाएको उल्लेख गर्नुभयो ।
सुनसरी प्रशासनले महोत्सव रोक्न लिखित र मौखिक जानकारी गराएकाे थियाे । महोत्सवमा बोलाइएका भोजपुरी कलाकार स्टेजमा नआएपछि महँगो शुल्क तिरेर टिकट काटी भेला भएको भिड तोडफोड र आगजनीमा उत्रिएको थियो ।
यस क्रममा चार वटा भारतीय नम्बर प्लेटको स्कर्पियो, दुई वटा मोटरसाइकलमा आगजनी भएको थियो । स्टेज तोडफोड र आगजनीको क्रममा भागदौड हुँदा एक दर्जनभन्दा बढी घाइते भएका प्रहरीले जनाएकाे छ । प्रहरीले भिड तितरबितर पार्ने क्रममा १५ सेल अश्रुग्याँस प्रहार गर्नु परेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

