गत चैतदेखि बन्द रहेको प्रसिद्ध पर्यटकीय स्थल लुम्बिनी क्षेत्र बुधबारदेखि पर्यटकका लागि खुला गरिएको छ। सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बुद्ध जन्मस्थल लुम्बिनी पनि खुला गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए। उनका अनुसार लुम्बिनी क्षेत्र खुला भएपनि मायादेवी मन्दिरभित्र प्रवेश पाइने छैन। तर मायादेवी मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करिणी पोखरी र बगैचा खुला रहनेछन्। उनले मायादेवी मन्दिर परिसरमा प्रवेश गर्ने पर्यटकले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र प्रवेश गर्नुअघि तापक्रम मापन गरेर मात्रै प्रवेश दिइने बताए। लुम्बिनीका अरु विहार र मन्दिरहरुमा घुमघामका लागि पनि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नुपर्ने उनले बताए। कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द रहेको लुम्बिनी अहिले सिंगारिएको छ। लकडाउनको सदुपयोग गर्दै लुम्बिनी विकास कोषले लुम्बिनी क्षेत्रभित्र सरसफाई, मर्मत सम्भार, वृक्षारोपण र सौन्दर्यीकरणका काम गरेर लुम्बिनीलाई सिंगारेको छ। जसका कारण लुम्बिनी सुन्दर र चिटिक्क बनेको छ। लकडाउनको सदुपयोग गर्दै सिंगो लुम्बिनी क्षेत्रको सौन्दर्यीकरणको काम भएको कोषका उपाध्यक्ष भिक्षु अवधेश कुमार त्रिपाठीले बताए। लुम्बिनी परिसर बाहिर रहेको महिलवारस्थित ५ नम्बर प्रवेशद्वारबाट मायादेवी मन्दिर पुग्ने पैदलमार्गमा रंगीन इटा बिछ्याइएको छ। यसअघिको पक्कीसडक भत्काएर रंगीन इटा बिछ्याउँदा मायादेवी मन्दिरतर्फ जाने यो सडक निकै सुन्दर देखिएको छ। मायादेवी मन्दिर परिसरमा घाँस, दुवो काटेर चिटिक्क बनाइएको छ भने विभिन्न ठाउँमा रंगीबिरंगी फूल फुलेका छन्। मायादेवी मन्दिर परिसरमा रहेको पवित्र पुष्करिणी पोखरी सफा गरिएको छ। माटो भरेर प्राचीन बोधी वृक्षको संरक्षण र मन्दिर परिसरमा रहेका पूरातात्विक संरचनाहरुको मर्मत सम्भार गरिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।