भरत शाह र अमर पुन।
लुम्बिनी प्रदेशमा चुनावको तयारी शुरु भएको छ। लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीको भैरहवामा हुँदैछ।
हालै सम्पन्न जिल्ला अधिवेशनहरुको नतिजाअनुसार लुम्बिनी प्रदेशमा संस्थापन इतर अर्थात् रामचन्द्र पौडेल पक्ष बलियो देखिएको छ।
लुम्बिनीका १२ जिल्लामध्ये ९ जिल्लामा पौडेल पक्षका नेताले सभापति जितेका छन् भने रुपन्देही र बर्दियामा मात्रै पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेताले सभापति जितेका छन्। बाँकेमा जिल्ला अधिवेशन नभए पनि देउवा पक्ष बलियो रहेको नेताहरुको आँकलन छ।
ठूला जिल्लाहरुमा प्रतिनिधिको संख्या धेरै भएकाले देउवा र पौडेल पक्षका प्रतिनिधि बराबरकै हाराहारीमा रहेको दाबी देउवा पक्षका नेताहरु गर्छन्।
देउवा पक्षको दाबीअनुसार प्रतिनिधि चुनिएका भए लुम्बिनीमा दुई पक्षबीचको चुनाब रोचक हुनेछ। तर जिल्ला नेतृत्व जितेका जिल्लामा अधिकांशमा महाधिवेशन प्रतिनिधिसमेतमा पौडेल पक्षको प्यानलले नै जितेको हुँदा पौडेल पक्षले लुम्बिनी प्रदेशको नेतृत्व लिने सम्भावना बलियो देखिन्छ।
जिल्ला र क्षेत्रमा बलियो देखिएको पौडेल पक्षबाट लुम्बिनी प्रदेशको सभापतिमा रोल्पाका निवर्तमान सभापति अमरसिंह पुन र देउवा पक्षबाट रुपन्देहीका नेता भरतकुमार शाह मैदानमा उत्रिदैछन्।
देउवा पक्षकै नवलपरासी पश्चिमका देवेन्द्रराज कँडेलको सभापतिमा दाबी रहेपनि उनले शाहलाई नै समर्थन गर्ने संकेत गरेका छन्।
सहमतिमा नेतृत्व नचुनिएमा चुनावी मैदानमा पुन र शाह उत्रिने लगभग पक्का छ।
पुन तुलनात्मक हिसाबले पार्टी र सिद्धान्तप्रति बढी बफादार र अरु दलहरुप्रति कडा आलोचकका रुपमा चिनिन्छन् भने शाह समन्वयकारी नेताका रुपमा चिनिन्छन्।
प्रष्ट रुपमा दुई धार देखिएको लुम्बिनीको चुनाव सम्पन्न गर्ने जिम्मा पार्टीले सभापति देउवाका विश्वासपात्र बालकृष्ण खाँणलाई दिएको छ।
रुपन्देही जिल्लाको नेतृत्व चयनमा आफुहरुबीच भागबण्डा गरेर सर्वसहमति गराएका खाँणले यसपटक पनि चुनाव गर्ने जोखिम लिएनन् भने नेतृत्व बाँडफाँडमा देउवापक्षकै निर्णायक भूमिका देखिनेछ।
रुपन्देहीमा निर्वाचन तालिकामै हेरफेर गर्दै आफ्नै भाइ रामकृष्ण खाँणलाई सभापति र भरत शाह पत्नी अनिता शाहलाई उपसभापति बनाएका गृहमन्त्री खाँणले यसपटक पनि सहमतिको प्रयास जारी राखेका छन्।
सहमतिको प्रयासका बीच दुई पक्षले नै उम्मेदवारी दिने घोषणा गर्दै प्रचारप्रसार थालेका छन्। पुन र शाहले प्रचारका लागि सचिवालय बनाएर मत माग्ने काम शुरु गरिसकेका छन्।
उनीहरुले पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन र पार्टीलाई उर्जा दिन आफूहरुलाई भोट दिनुपर्ने तर्क अघि सारेका छन्। सभापतिमा दाबी गरेका पुनले आफूले लुम्बिनी प्रदेशमा नयाँ हिसाबले संगठन र पार्टी अघि बढाउने योजना अघि सारेका छन्।
‘लुम्बिनीमै बसेर पार्टीलाई नयाँ हिसाबले अघि बढाउँदै संगठन बलियो बनाउने र विगतका चुनावी नतिजामा समेत कांग्रेसलाई सशक्त रुपमा बलियो बनाउने मेरो योजना छ, ‘ उनी भन्छन्, ‘यो कुरा प्रतिनिधि र शीर्ष तहका नेतृत्वले पनि बुझ्नुहुनेछ भन्ने मेरो विश्वास छ।’
उनका प्रतिस्पर्धी शाहले भने पार्टीको नेतृत्व तहबाट अघि सारेकाले आफू लुम्बिनीको नेतृत्वमा आउन तयार भएको बताउँछन्। ‘ुमलाई तपाई अघि बढ्नुस् भन्ने कुरा पार्टीबाट आयो, म मेरा योजनासहित लुम्बिनीमा नेतृत्व गर्न तयार छु,’ उनले भने, ‘लुम्बिनीमा पार्टीलाई नयाँ दिशा दिने मेरो सोंच छ।’
प्रदेश सभापतिसँगै अरु पदमा पनि नेताहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन्। अर्घाखाँचीका निवर्तमान सभापति विष्णु खनाल मुस्कानले प्रदेश महामन्त्रीमा दाबी गरेका छन्।
यस्तै अरु नेताहरुले पनि प्रदेश पदाधिकारीमा उम्मेदवारी घोषणाको तयारी गरिरहेका छन्।
प्रत्येक जिल्लामा रहेका प्रतिनिधिसभा क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्रबाट आएका क्षेत्रीय प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू र सांसद प्रदेश अधिवेशनका मतदाता हुन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

