Rashtriya Dainik

ग्लोबल आईएमई बैंकद्वारा वित्तीय साक्षरता सम्बन्धी तालिम सम्पन्न

विनय मिश्र/ नवलपरासी/१४ मंसिर ।

पश्चिम नवलपरासीको भुमहीमा ग्लोबल आईएमई बैंकको ग्राहकलाई वित्तीय साक्षरता सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।

ग्राहकलाई डिजिटल बैंकिङ सम्बन्धी आएको समस्यालाई मध्य नजर राखी त्यही समस्यालाई समाधान गर्न तालिमको आयोजना गरिएको ग्लोबल आईएमई बैंक परासी शाखाका शाखा प्रबन्धक विमलेश सिंहले बताए ।

पछिल्लो समय नेपालमा डिजिटल कारोबार बढ्दो क्रममा देखिएको छ । सरकारले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति लिएपछि यस्तो कारोबार बढ्दै गएको देखिन्छ । सरकारको नीतिसँगै नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच विस्तार गर्न विद्युतीय भुक्तानी प्रणालीको विकासलाई प्राथमिकता दिँदै आक्रामक रुपमा अगाडि बढेको देखिन्छ । राष्ट्र बैंकको नीति अनुसार डिजिटल कारोबारमा तिब्रता आएको छ भने भुक्तानी सेवा प्रदायक कम्पनीहरु पनि विभिन्न योजनासहित आक्रामक ढंगले सेवा विस्तार गरिरहेका छन् ।

अहिले मोबाइल बैंकिङ, वालेट, एटिएम, इन्टरनेट, डेविट तथा क्रेडिट कार्ड, इसिसि, प्वाइन्ट अफ सेल (पीओएस) मार्फत डिजिटल कारोबार गरिरहेका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत भुक्तानी प्रणालीको आधुनिकीकरण गर्न पूर्वाधारको विकास गर्दै सबै आर्थिक कारोबार विद्युतीय माध्यमबाट गर्न प्रोत्साहन गर्ने गरी अगाडि बढिरहेको छ । तर धेरै मानिस भने डिजिटलको कारोबारको पहुँच पुग्न सकेको छैन । आम मानिसले डिजिटल कारोबारलाई नगद कारोबार भन्दा झन्झटिलो मान्ने गरेकाले पनि प्रयोग गर्न सकेका छैनन् ।

राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई सहज र अझै प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाका अतिरिक्त इसेवा, आईएमई पे, खल्ती, प्रभु पे, ई सेवा, सेल पे, सिजी पे, मोरु, पेटाइम, स्मार्टकार्ड, क्यु पे, तथा मोहर पे कार्ड लगायत भुक्तानी सेवाप्रदायक कम्पनीलाई आर्थिक कारोबार गर्न अनुमति दिएको छ ।

कार्यक्रममा ग्लोबल आईएमई बैंकका कर्मचारी तथा १०० भन्दा बढी ग्राहकले तालिममा भाग लिएका थिए।

के के कारोबार गर्न सकिन्छ डिजिटल बैंकिङबाट ?

डिजिटल कारोबारबाट मानिसलाई काम गर्न धेरै सजिलो भएको छ । समयको बचत भएको छ । नगद बोकेर हिड्नु पर्ने समस्या हुँदैन भने चोरी हुने सम्भावना पनि कम हुन्छ । डिजिटल बैंकिङको माध्यमबाट सिनेमाको टिकट खरिद गर्न, सवारी साधनमा इन्धन भर्न, ठूला सपिङ्गमलदेखि साना खुद्रापसल, ट्याक्सी, रेस्टुराँको बिल, विजुलीको बिल तिर्ने लगायतको पैसा तिर्न सकिन्छ ।

प्रविधिको विकाससँगै बैंकिङ प्रणालीमा भुक्तानी सहज बनाउन तथा नगद कारोबारलाई निरुत्साहन गर्न सरकारले डिजिटल भुक्तानी सम्बन्धी विभिन्न योजना अघि सारिरहेको छ । जसले गर्दा नोट निष्काशन गर्ने खर्च कटौतीदेखि नोट सुरक्षाका लागि पनि यसले सहयोग गर्ने गर्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित