१ मंसिर, काठमाडौं । रानीपोखरीको बिच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर आज पाँच वर्षपछि भाइटीकाको दिन खुल्ला गरिएको छ । दिदीबहिनी नहुनेहरूले यस मन्दिरमा पूजा गर्ने र टीका लगाउने चलन छ । बालगोपालेश्वर मन्दिर वर्षको एक दिन भाइटीकाको दिनमा मात्र खुल्ने गर्दछ । २०७२ को भूकम्पका कारण क्षति पुगेपछि बालगोपालेश्वरको मन्दिर बन्द थियो । मन्दिरभित्रको मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो । अघिल्ला वर्षहरुमा भाइटीकाको दिन रानीपोखरीको बाहिर मूर्ति राखेर पूजा गरिन्थ्यो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २७ करोड रुपैयाँ खर्चेर कात्तिक महिनामा रानीपोखरी पुनर्निर्माण सम्पन्न गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको कात्तिक ५ गते रानीपोखरी उदघाटन गर्नुका साथै बालगोपालेश्वरको प्राणप्रतिष्ठा पूजा गरेकी थिइन् । विज्ञ समूहको प्रतिवेदनअनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमै पुनर्निर्माण गरिएको छ । जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् डा. गोविन्द टण्डनले जानकारी दिए । विक्रम संवत् २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ’, टण्डनले भने । विक्रम संवत् २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन खुल्न थालेको हो । तीन वर्षअघिको गोरखा भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।