१ मंसिर, काठमाडौं । आज तिहारको मुख्य दिन, दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा छ । भाइटीका थाप्न कुन दिशामा फर्किएर बस्ने र टीकामा कुन–कुन रंग प्रयोग गर्ने भन्ने जानकारी सबैलाई नहुन सक्छ । त्यसैले आज त्यसको जानकारी हामी दिँदैछौं । जनजिब्रोमा एउटा गीत खुबै चर्चित छ, ‘निधारमा लर्काएर सप्तरंगी टीका…।’ यो गीत तिहारमा बज्ने धेरै गीतहरुमध्ये एक हो । यो गीतले जस्तै आम धारणा पनि तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने नै छ । त्यसैले बजारमा पनि भाइटीकालाई लक्षित गरी थरिथरिका रंगहरु बिक्रीका लागि राखिएका हुन्छन् । तर, शास्त्रीय मान्यताको कुरा भने आम धारणा र चलनचल्तीभन्दा भिन्न छ । शास्त्रले भन्छ– तिहारमा सप्तरंगी होइन, पञ्चरंगी टीका लगाउनुपर्छ । भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको टीका लगाउने भनेर शास्त्रमा लेखिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले बताए । भाइटीका लगाउँदा कुन दिशा फर्किने ? भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । टीका थाप्न बस्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँ तिर पार्नुपर्छ । त्यसैले भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्किएर बस्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दायाँ पर्नेछ । हरेक शुभकर्ममा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय नियम छ । अहिले चन्द्रमा वृश्चिक राशीमा छन् । वृश्चिक राशीमा रहँदा चन्द्रमा उत्तर दिशामा हुन्छन् । त्यसैले टीका थाप्ने व्यक्ति सके उत्तर, नसके पश्चिम दिशा फर्किएर बस्नुपर्छ भनिएको पञ्चाङ्गकारहरु बताउँछन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।