काठमाडौं । नियमित कार्यक्रम अन्तर्गत राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी मंसिर ११ र १२ गते सञ्चालन हुने भएको छ । यसअघि कार्तिक २ र ३ गतेलाई तय गरिएको कार्यक्रम मंसिरमा सारिएको हो । परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखा प्रमुख केदारराज पराजुलीले यसअघि निर्धारित समयभन्दा डेढ महिना ढिला भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिएकाले औषधिको समय मिलानका लागि मंसिरमा सारिएको बताउनुभयो । उहाँले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमँगै जुकाको औषधि र पोषण तत्वले बनेको बालभिटा खुवाउनुका साथै बालबालिकाको पाखुराको नाप लिइने बताउनुभयो । बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसूक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम हुँदै आएको छ । पराजुलीका अनुसार वर्षमा २ पटक हुने यस कार्यक्रम अन्तर्गत २७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउनेछन् । साथै ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइँदै आएको छ । भिटामिन ‘ए’ कार्यक्रममा देशभरका करिव ५२ हजार स्वास्थ्य स्वंमसेविका सहभागी हुनेछन् । ६ महिनादेखि ५ वर्षउमेर सम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न नेपालमा २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउन सुरु गरिएको हो । बालबालिकालाई जुकाको औषधि २०५८ र बालभिटा २०६६ सालदेखि खुवाउन थालिएको हो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।