२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड–१९ का कारण बेरोजगार भएकाहरुलाई रोजगारी दिइने भन्दै आफू बसोबास गरेको क्षेत्रको वडा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ । महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीलाई जीवन निर्वाहका लागि पारिश्रपिमक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराइने जानकारी दिएको हो । असहाय, अशक्त तथा शारीरिक रुपमा काम गर्न नसक्नेहरुलाई भने खान, बस्न र स्वास्थ्य उपचारका लागि मानव सेवा आश्रममा व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ । त्यस्ता व्यक्तिहरुले नजिकका वडा कार्यालयमा वा सीधै मानव सेवा आश्रममा सम्पर्क गर्न सक्ने काठमाडौं महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । यसअघि परोपकारी केही संस्थाहरुले काठमाडौंको खुलामञ्चमा बेरोजगार, असहाय र अशक्त व्यक्तिहरुका लागि खाना खुवाउने काम गर्दै आएका थिए । स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना, सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने भन्दै महानगरपालिकाले आगामी मंसिर २ गतेदेखि सार्वजनिक स्थलमा खाना खुवाउने कार्यमा रोक लगाएको छ । अन्य बन्द संरचनाभित्र स्वास्थ्य मापदण्ड पालना गरी भोजन सेवा सन्चालन गर्न महानगरपालिकाले सबै सामाजिक संघ संस्थाहरुलाई अनुरोध गरेको छ । यस कार्यमा वडा कार्यालयबाट आवश्यक समन्वय तथा सहयोग हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।