रुपन्देही / २५ कार्तिक रुपन्देही जिल्लामा उपचाररत एक स्वास्थ्यकर्मीसहित तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलका २ र कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको हो । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० की ४८ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । उनी लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य केन्द्रकी सिनियर अनमी हुन् । रुपन्देहीमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु यो नै पहिलो हो । कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएपछि १८ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी उनको सोमबार राति १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलले बताउनुभयो । यस्तै सिद्धार्थनगर नगरपालिका–१२ का ७० वर्षीय पुरुषको पनि भीम अस्पताल भैरहवामा मृत्यु भएको छ । कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनको मंगलबार बिहान ६ बजे मृत्यु भएको प्रवक्ता डा. पोखरेलले जानकारी दिनुभयो । डा. पोखरेलका अनुसार संक्रमित पुरुष दमको दीर्घरोगी थिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ८९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ । यसैगरी कपिलवस्तुका एकजना कोरोना संक्रमितको बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६ का ७९ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । कात्तिक २३ गते बिहान १० बजे अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा भर्ना भएका उनको सोमबार दिउँसो २ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनको सोमबार राति ९ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले पुष्टि गर्नुभयो । योसँगै कपिलवस्तु जिल्लामा कोरोना संक्रमितको मृत्यु हुने संख्या १४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।