काठमाडौँ — निर्मला पन्त हत्याका दाेषी पत्ता लगाइ कारबाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक शैलेश थापालाई बोलाएर निर्मलाका हत्यारा पत्ता लगाइ कारबाही गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री देउवाले निर्मलाको हत्या भएको तीन वर्ष पुगेको दिन आइतबार गृहमन्त्री खाँण र आईजीपी थापालाई बालुवाटारमा बोलाएर पन्त हत्यासँग सम्बन्धित हालसम्मको अनुसन्धानबारे जानकारी लिएका थिए ।
उनले चाँडोभन्दा चाँडाे दाेषी पत्ता लगाएर कारबाही गर्न निर्देशन समेत दिएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
आइतबार निर्मलाका आफन्तले कञ्चनपुरमा हत्यारा पत्ता लगाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।
कञ्चनुपरकी बालिका निर्मलाको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गएकी उनको भोलिपल्ट महेन्द्रनगर–उलटाखाम सडकछेउ उखुबारीमा शव भेटिएको थियो ।
उक्त प्रकरणमा केही सन्दिग्धलाई पक्राउ गरेर छाडिदिएको प्रहरीले अझै प्रमाण जुटाउन सकेको छैन । वर्षौंसम्म दोषी पत्ता नलाग्दा न्याय पाउने आस मर्दै गएको परिवारको गुनासो छ । निर्मलालाई न्याय माग्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको ज्यानसमेत गएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

